मित्रमिलन सहकारीका लेखा संयोजक पक्राउ



पोखरा ।

पोखरास्थित मित्रमिलन सहकारीका लेखा समिति संयोजकलाई प्रहरीले पक्राउ गरेको छ। सहकारीको रकम अपचलन गरेको आरोपमा फरार रहेका सूर्यबहादुर अधिकारीलाई कास्की प्रहरीले आज घरबाट पक्राउ गरेको हो।

रकम अपचलन भएको र बचत फिर्ता नभएको आरोपसहित बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि प्रहरीले अनुसन्धान थालेकोमा करिब २७ करोड अपचलन भएको रिपोर्ट प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।

सोही आधारमा अदालतमा मुद्दा दर्ता भएको छ। ठगी आरोपमा अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीसहित सदस्यहरू गोपाल खनाल, सल्लाहकार राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि थुनामा छन्।

सहकारीको कार्यक्षेत्र विस्तारका लागि सहकारीबाट १ करोड ५ लाख घुस लिएको आरोपमा तत्कालीन सहकारी रजिष्ट्रार तथा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई पनि पुर्पक्षका लागि थुनामा पठाइएको छ।

सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएका पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदीसहित केही पत्रकार र कानुन व्यवसायीहरु फरार छन्।

प्रतिक्रिया दिनुहोस्