रत्ननगर महोत्सव सुरु

वन्यजन्तुको संरक्षण र पर्यटनलाई सँगसँगै अगाडी बढाउनुपर्छ: अध्यक्ष तिमिल्सिना



चितवन। 

पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा रत्ननगर महोत्सवको १२औं संस्करण बिहीबारदेखि सुरु भएको छ । महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक भव्य समारोहका बीच उद्घाटन गरे ।

महोत्सव उद्घाटजन गर्दैै अध्यक्ष तिमिल्सिनाले वन्यजन्तुको संरक्षण र पर्यटनलाई सँगसँगै बढाउनुपर्ने धारणा राखे । वनजंगल र वन्यजन्तुको संरक्षणसँगै पर्यटन र वन क्षेत्रबाट लिन सकिने नाफा लिन सकेमा मात्रै त्यसले आर्थिक क्षेत्र बलियो हुने धारणा उनको थियो । ‘निकुञ्जको संरक्षण र जिल्लाको पर्यटनलाई सँगसँगै अगाडि बढाउनुपर्छ।’उनले भने ‘मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्दै स्थानीय समुदायको जीविकोपार्जन तथा पर्यटनबाट आर्थिक लाभ लिनुपर्छ ।’

 संरक्षणलाई पर्यटनसँग जोडेर आर्थिक विकासका गतिविधि बढाउन सबैलाई उनको आग्रह छ ।  चितवनमा रेलमार्गको सम्भावना रहेको भन्दै उनले वन र वन्यजन्तुलाई असर नपर्ने गरी रेलमार्ग निर्माणको कामलाई अगाडि बढाउनुपर्छ भने  । ‘निकुञ्जलाई असर गर्छ भनेर रेलमार्ग निर्माणको काम रोकिनु हुँदैन’ उनले भने   ‘दूरगामी प्रभाव पर्ने काम हो अगाडि बढाउनु पर्छ ।’

 आर्थिक मन्दीका बेला रत्ननगरका व्यवसायीले महोत्सव गर्ने आँट गर्नु चानचुने कुरा नभएको भन्दै उनले रत्ननगर महोत्सवले चितवनको आर्थिक क्षेत्र चलायमान गराउने विश्वास व्यक्त गरे  । सरकार र निजी क्षेत्रको सहकार्यमा आर्थिक सङ्कट अन्त्यको लागि पहल सुरु गर्नु पर्ने बताए । भूकम्प र कोरोना महामारीपछि मुलुकको आर्थिक प्रणालीमा असर परेका कारण आर्थिक सङ्कट पैदा भएको भन्दै उनले यसको अन्त्यको लागि सबै क्षेत्र जिम्मेवार हुनुपर्ने बताए  ।  मुलुकमा आर्थिक संकटको असर चौतर्फी रुपमा रहेको छ उनले भने संकटको समाधानको लागि राज्य चनाखो हुनुपर्छ भने ।

कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय गरी  करिब ४५० स्टलहरु रहेको महोत्सव आयोजक समितिका संयोजक तथा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीले जानकारी दिए । यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करिब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ । विगतमा जस्तै महोत्सव अन्तर्गत पौष २९ देखि ४ गते सम्म ५ दिन  रत्ननगरको सौराहाचोक बसपार्कमा विभिन्न जनजातिहरूको विशेष खाना, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि विशेष परिकार सहित पाँचौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्