अमेरिका पठाइदिन्छु भन्दै साढे २३ लाख ठगी गर्ने महिला पक्राउ



काठमाडौं ।

अमेरिका पठाइदिन्छु भनी साढे २३ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महत रहेकी हुन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार भंगाल चपलीबाट पक्राउ गरेको हो। महतले अमरबहादुर पुनलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भनी २३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ।

अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र तलब मासिक ४ लाख हुने भनी विश्वास दिलाएर रकम ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए। पटक-पटक गरेर रकम लिएपछि फरार भएकी महतविरूद्ध पीडितले कार्यालयमा उजुरी दिएका थिए।

अमेरिका जाँदा लागत ५० लाख रुपैयाँ लाग्ने भनेकी महतविरूद्ध उजुरी आएपछि प्रहरी खोजीमा थियो। महतलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको रेग्मीले बताए।

प्रतिक्रिया दिनुहोस्