दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली



काठमाडौं ।

दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ ।

कार्यरत वीरदल गण (शान्ति सेना) नवौँ डफ्फाको कार्यकाल सम्पन्न भएकोले उक्त गणको बदलामा अरिदमन गण (शान्ति सेना) दशौँ डफ्फाका २१२ जना शान्ति सैनिकहरु बिहीबार सेनानी लाल बहादुर श्रेष्ठको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टर्ड विमान मार्फत काठमाडौँबाट मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।

गणपति प्रमुख सेनानी महेश्‍वर सिल्वालको नेतृत्वमा रहेको सो गणका ६३८ जना शान्ति सैनिकहरु यस अगावै मिसन इलाकामा तैनाथ भई सकेका छन् ।

यस्तै, सो मिसनमा कार्यकाल पुरा गरेको वीरदल गण (शान्ति सेना) नवौँ डफ्फाका २२२ जना शान्ति सैनिकहरू गणपति प्रमुख सेनानी राजन दाहलको नेतृत्वको टोली मंगलबार स्वदेश फर्किएका थिए ।

हाल उक्त मिसनमा नेपाली सेनाबाट सेक्टर कमाण्डर १, सैनिक पर्यवेक्षक १३, स्टाफ अधिकृत ४६ र दुईवटा गण तथा एउटा गुल्ममा १६९९ गरी कुल १७५९ जना शान्ति सैनिकहरु कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्