सन्दीपलाई ८ वर्ष कैद सजाय, तीन लाख जरिवाना र पीडितलाई २ लाख क्षतिपूर्ति दिनुपर्ने



काठमाडौं ।

काठमाडौं जिल्ला अदालतले बलात्कार गरेको ठहर गर्दै क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई सो सजाय तोकेको हो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ३ लाख जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन भराउन आदेश गरेको छ। यही पुस १३ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई किशोरी बलात्कार मुद्दामा दोषी ठहर गर्दै फैसला सुनाएका थिए।

फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि त्यतिबेलै आजको लागि पेसी तोकिएको थियो।

पीडितको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर उनले किशोरीलाई बलात्कार गरेको अदालतको ठहर छ। किशोरीको उमेर भने १८ वर्ष पुगेको अदालतले मानेको छ। मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा ३ (ङ) मा १८ वर्ष वा त्यसभन्दा बढी उमेरकी महिला पीडित भए ७ देखि १० वर्षसम्म कैद हुन व्यवस्था छ।

गौशाला २६ नाम दिइएकी ती किशोरीलाई काठमाडौँको सिनामंगलस्थित एक होटलमा लगेर बलात्कार गरेको अभियोग लामिछानेलाई लागेको थियो।

प्रतिक्रिया दिनुहोस्