रामबहादुर बम्जनको आश्रमबाट ४ अनुयायी हराए : सीआईबी



काठमाडौं ।

महिला अनुयायीहरूलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका रामबहादुर बम्जनको आश्रमबाट ४ अनुयायी हराएको खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी दिनेश आचार्यले तपस्वी बम्जनको आश्रमबाट ४ अनुयायी बेपत्ता पारिएको भेटिएको जानकारी दिए।

उनका अनुसार उनीहरु विभिन्न मितिमा बम्जनको आश्रमबाट हराएको उजुरीसमेत परेको छ। व्यक्ती बेपत्ता, बाल यौन दुराचारलगायत आरोपमा सीआईबीले बमजनलाई मंगलबार साँझ हात्तिगौँडाबाट पक्राउ गरेको थियो।

सीआईबीले उनलाई पक्राउ गर्न ‘अप्रेसन ब्लु’ चलाएको थियो । बमजन विगत २ महिनादेखि हात्तिगौँडामा परिवारसँग रहेको प्रहरीको दाबी छ।

बमजनको निवासबाट ३ करोड ३ लाख ७५ हजार ५ सय रुपैयाँ र ३० लाख भन्दा बढी नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको छ। यता पक्राउ परेका रामबहादुर बम्जनले आफूले कुनै किसिमको अपराध नगरेको बताएका छन्।

पक्राउ गरेपछि दिएको प्रारम्भिक बयानमा उनले आफूमाथि लागेका सबै अपराधको आरोप अस्वीकार गरेका हुन्। ‘यो सबै मलाई फसाउनका लागि, माइनस गर्नका लागि गरिएको डिजाइन हो।

यसमा मान्छेहरू प्रयोग गरेर मलाई माइनस गर्न खोजिएको हो’, उनले सीआईबीका अधिकारीसँगको बयानमा भने, ‘मैले यी कुनै पनि अपराध गरेको छैन। मान्छे बेपत्ता बनाएको छैन। बलात्कार जस्ता कुनै पनि अपराध गरेको छैन।’

प्रतिक्रिया दिनुहोस्