जनताले रोजेको शक्तिले शासन गर्न नपाउँदा जनतामा निराशा बढ्यो : शङ्कर पोखरेल



काठमाडौं ।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जनताले रोजेको शक्तिले शासन गर्न नपाएको कारण जनतामा निराशा बढेको बताएका छन्।

नेकपा एमाले गुल्मीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै महासचिव पोखरेलले गठबन्धनको नाममा जालझेल गरेर जनताले रोजेको शक्तिलाई बाहिर राख्ने काम भएको पोखरेलले बताए।

लोकतन्त्रको यो कमजोरीलाई सच्याउने सामर्थ्य निर्माण गर्न आवश्यक रहेको उनको भनाइ थियो। बलियो राष्ट्रिय शक्ति निर्माण गरेर मात्र जनताको निराशा चिर्न सकिने र देशलाई विकासको मार्गमा अघि बढाउन सकिने पोखरेलले दाबी गरे।

अहिलेको जनादेशले मूलकलाई स्थिरताको बाटोमा लैजान नसक्ने पोखरेलले बताए। वर्तमान सत्ता गठबन्धन सबै हिसाबले असफल भएको पोखरेल दाबी गरे।

‘यो गठबन्धन जनमतबाट पनि अस्वीकृत भइसकेको छ र कर्मद्वारा पनि असफल भइसकेको छ, यो सरकार हनु भनेको मुलुक बरबादी तर्फ जानु हो’, पोखरेलले भने।

गठबन्धन सरकारले अराजकता र अस्थिरता अन्त्य गर्न नसक्ने उनले बताए। नागरिकमा बढेका निराशा हटाउनको गठबन्धनसँग कुनै कार्यक्रम र योजना नरहेको उनले प्रस्ट पारे। गठबन्धन सरकार निर्माण पछि सांस्कृतिक विगठनको क्रम पनि तीव्र रूपले बढेको उनले टिप्पणी गरे। त्यस्तै अहिले मुलुक चरम आर्थिक मन्दीको अवस्थामा रहेको उनले बताए।

नेपाली राजनीतिका पुष्पकमल दाहाल छेपारो भन्दा पनि छिटो रङ्ग बदल्ने व्यक्ति भएको पोखरेलले बताए। छेपारोले रङ्ग बदल्न मौसम परिवर्तन हुनुपर्ने भए पनि प्रचण्डलाई रङ्ग बदल्न मौसम पनि परिवर्तन हुनुपर्ने उनको टिप्पणी छ।

फरक प्रसङ्गमा पोखरेलले नेकपा एमालेले मिसन ग्रासरुटबाट वडासम्मको पार्टीको अवस्था विश्लेषण गर्ने काम गरेको बताए। त्यसैको आधारमा पार्टी व्यवस्थित योजना बनाएर अघि बढेको उनले प्रस्ट पारे।

नेकपा एमालेले सम्पन्न गरेको मध्यपहाडी लोकमार्ग समृद्धिका लागी सङ्कल्प यात्राले मुलुकको राजनीतिलाई गलत बाटोमा लैजाने कार्यलाई ब्रेक लगाइदिएको उनले दाबी गरे।

मुलुकलाई जातीय अतिवाद, धार्मिक अतिवादी तथा पश्चगमन तर्फ लैजाने प्रवृत्ति माथि सो यात्राले लगाम लगाइदिएको उनले बताए। मध्यपहाडबाट मानिसहरूको बसाइसराई नरोकिएको प्रति उनले चिन्तासमेत व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्