मेनुकालाई सञ्जय दत्तको हौसला



काठमाडौं ।

गायिका मेनुका पौडेललाई भारतीय गायन रियालिटी शो इन्डियन आइडलमा गीत गाउँदा गाउँदै शब्द भुलेपछि बलिउड अभिनेता सञ्जय दत्तले आफूले क्यान्सरलाई समेत जितेको स्मरण सुनाउँदै हौसला दिएका छन्।

सुरिलो स्वर र गायनकलाले शोका निर्णायकका साथमा संगीतप्रेमी दर्शकको मन जित्दै आइरहेकी गायिका पौडेलले गाउँदा गाउँदै शब्द बिर्सिएर अड्किएपछि अभिनेता दत्तले हौसला दिएका हुन्।

मेनुका शब्द बिर्सिएर रोकिएपछि कार्यक्रममा अतिथिका रूपमा आएका बलिउड अभिनेता सञ्जय दत्तले ‘कहिलेकाहीँ यस्तो हुन्छ’ भन्दै मेनुकालाई मजबुत बन्न र बिर्सिएकै स्थानबाट गाउन हौस्याएका थिए।

‘म क्यान्सर पेसेन्ट हुँ। मलाई स्टेज फोरको क्यान्सर थियो। डक्टरले मलाई जब तिमीलाई लङस्को क्यान्सर छ भने, बच्चाहरूको याद आएर म एक मिनेटको लागि रोएँ। त्यसपछि मैले भनेँ म जित्छु, यो हार्छ। किमो थेरापी धेरै पावरफुल औषधि हो। डक्टरले किमो थेरापी गरेपछि तिमीलाई बान्ता हुन्छ, कपाल झर्छ, पाँच दिनसम्म ओछ्यान पर्छौ, यस्तो हुन्छ उस्तो हुन्छ भनेका थिए। मैले भनें न मेरो कपाल झर्छ, न म वान्ता गर्छु’ सञ्जय दत्तले मेनुकालाई हौस्याउँदै भने ‘किमो थेरापी गरेर म सबैभन्दा पहिला जिम गएँ। दुई घण्टा जिम गरेँ। भोलिपल्ट मैले डक्टरकहाँ गएर मलाई सुटिङमा जानु छ भनेँ। डक्टरले पागल हौ तिमी भने। त्यसपछि मैले शम्शेरा कम्प्लिट गरेँ। र किमो थेरापीकै दौरान मैले केजीएफ कम्प्लिट गरेँ। आज मैले जितेँ र क्यान्सर हार्‍यो। मैले हिम्मत हारिनँ। भन्नुको मतलब तपाईं यति राम्रो गाउनुहुन्छ। प्लिज गाइरहनुस्, नरोकिनुस्।’

शोकी अर्की निर्णायक श्रेया घोषालले पनि मेनुकालाई ‘तिमीले गीत पूरा गर्न सक्छौ’ भन्दै गाउन अनुरोध गरिन्। आइतबारको एपिसोडबाट बटम चारमा परेकी उनले अन्यभन्दा बढी मत ल्याएकी थिइन्।

कुल तीन गीत गाएकी मेनुकाले एउटा गीत गाउने क्रममा भने शब्द बिर्सेकी हुन्। शब्द बिर्सिएपछि आत्तिएकी मेनुकाको स्टेजमै प्रेसर जाँच गरिएको थियो।

डक्टरले गायनलाई निरन्तरता दिन सक्ने भनेपछि निर्णायकहरूले पनि उनलाई गीतलाई निरन्तरता दिन सुझाएका थिए। मेनुका इन्डियन आइडल १४ को उपाधि दाबेदारमध्ये एक हुन्।

प्रतिक्रिया दिनुहोस्