त्रिविको उपकुलपतिका लागि पुन: दरखास्त आह्वान



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुन: दरखास्त आह्वान भएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट समितिले सोमबार दोस्रो विज्ञापन जारी गर्दै दरखास्त आह्वान गरेको हो।

यसअघि छनोट समितले पहिलोपटक आह्वान गरेको दरखास्त आइतबार रद्द गरिएको थियो। समितिले यही पुस २० गते शुक्रबार पहिलो सूचना जारी गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो। तर, त्यो सूचनामा उल्लेखित प्रावधानबारे विवाद भएपछि त्यसर्ला सच्याएर पुनः अर्को सूचना जारी गरिएको हो।

उपकुलपतिका लागि इच्छुक व्यक्तिले कार्यविधिमा उल्लिखित कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन्।

पहिलोपटक खुला प्रतिष्पर्धा मार्फत् उपकुलपति नियुक्त गर्न लागेको त्रिविले सार्वजनिक गरेको सूचनाको व्यहोराको आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना रद्द गर्न निर्देशन दिएका थिए।

खुला प्रतिस्पर्धाको माध्यमबाट उपकुलपतिमा नियुक्तिका लागि सिफारिस गर्न सिफारिस समितिको बैठकको व्यवस्थापन, उम्मेदवार छनोटका आधार तथा सिफारिससम्बन्धी कार्यलाई व्यवस्थित गर्न कार्यविधि बनाइएको हो।

कार्यविधिमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि उम्मेदवारको न्यूनतम योग्यता तोकिएको छ । जसअनुसार मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको, प्रचलित कानुनबमोजिम स्थापित विश्वविद्यालयको प्राध्यापक पदमा नियुक्त भई सो पदको अनुभव हासिल गरेको, प्रचलित कानुनबमोजिम सार्वजनिक पदमा नियुक्तिका लागि अयोग्य नरहेको हुनुपर्नेछ।

यस्तै, त्रिभुवन विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको र दरखास्त दिनु तत्कालअघि कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने उल्लेख छ। दरखास्त पेस गर्दा प्रचलित कानुनबमोजिम सार्वजनिक पदमा नियुक्तिका लागि अयोग्य नभएको र हाल कुनै राजनीतिक दलको सदस्य नरहेको स्वघोषणापत्र चाहिने कार्यविधिमा उल्लेख छ।
यस्तै, त्रिभुवन विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको व्यहोरा खुलेको स्वघोषणा पत्र पनि आवेदकले बुझाउनुपर्नेछ।

यस्तो छ कार्यविधि

प्रतिक्रिया दिनुहोस्