सुनकोसी मरिन डाइभर्सन आयोजनाका कारण कुसुमटारका स्थानीय खानेपानीको अभाव झेल्दै 



सन्धुली ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सुनकोसी मरिन डाइभर्सन आयोजनाका कारण आफूहरुको खानेपानीमा समस्या भएको स्थानीयहरूले गुनासो गरेका छन् । कमलामाई नगरपालिका २ कुसुम टारका स्थानीयहरूले सुनकोसी मरिन डाइभर्सन आयोजनाले बेवास्ता गर्दा गाउँमा खानेपानीको समस्या भएको बताएका छन् ।

सुनकोसी मरिन डाइभर्सन आयोजनाको सुरुङ खनेपछि कुसुम टारका स्थानीयले प्रयोग गर्दै आएको धाराको मुहानमा पानी सुक्दै जाँदा अहिले गाउँमा खानेपानीको अभाव भएको कुसुम टारका स्थानीय धनराज थिङले गुनासो गर्नुभयो । गाउँमा खानेपानीको अभाव हुन थालेपछि आज सोमवार स्थानीयहरू सिन्धुलीमाढीमा रहेको सुनकोसी मरिन डाइभर्सन आयोजनाको कार्यालयमै पुगेर तत्काल खानेपानीको व्यवस्था गर्न माग गरेका छन् । २०७९ असोज २८ गतेबाट यस आयोजनाको सुरुङ खन्ने काम सुरु गरिएको थियो ।

आयोजनाको सुरुङ खनेर कुसुमटारको खानेपानीको महान् झोरखोला शिरमा पुगेपछि पानी सुक्दै गएको अर्का स्थानीय विष्णु श्रेष्ठले बताउनुभयो । सुनकोसी मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्नु अघि २४ सै घण्टा स्वच्छ खानेपानी धारामा आउने गरेको थियो । तर सुरुङ खन्न थालेपछि अहिले पानी सुकेर दिनमा दुई घण्टा पनि धारामा पानी आउन छाडेको स्थानीय श्रेष्ठको भनाई छ ।

सुनकोसी मरिन डाइभर्सन आयोजनाले सुरुमा स्थानीयहरूलाई आवश्यक पर्ने सडक, खानेपानी, सिँचाइको सुविधा, रोजगारी लगायतका कुराहरू उपलब्ध गराउँछौँ भने पनि अहिले खानेपानीको अभाव हुँदा आयोजनाले बेवास्ता गरेको अर्का स्थानीय मदन थिङको गुनासो छ । गएको वर्षको हिउँदमा कुसुम टारका स्थानीयले बर्षौ देखि प्रयोग गर्दै आएको मुहानमा पानी सुकेर खानेपानीमा समस्या भएको थियो ।

त्यस बेला सुनकोसी मरिन डाइभर्सन आयोजनाले मरिन खोलामा इनार बनाएर त्यहाँको पानी विद्युत् मोटरबाट करिब ५ सय मिटर माथि लिफ्ट गरेर ट्याङकीमा पुर्‍याइ दिएको थियो । तर गएको असारमा मरिन खोलामा आएको बाढीले इनार बगाएपछि अहिले सम्म उक्त इनारको मर्मत नभएको कुसुमटार खानेपानी उपभोक्ता समितिका अध्यक्ष नारायण थिङले बताउनुभयो ।

अध्यक्ष थिङका अनुसार कुसुम टारका झन्डै एक सय घरधुरीले अहिले खानेपानीको अभाव झेलिरहेको छन् । इनारबाट पानी तानेको विद्युत् महसुल सुनकोसी मरिन डाइभर्सन आयोजनाले तिर्नुपर्ने भए पनि अहिले सम्म त्यो रकम समेत आयोजनाले तिरेको छैन । तीन महिनाको विद्युत् महसुल करिब २५ हजार रुपैयाँ रकम आयोजनाले नतिर्दा विद्युत् प्राधिकरणले लाईन नै काटी दिएको अध्यक्ष थिङले बताउनुभयो ।

सुनकोसी मरिन डाइभर्सन आयोजनाका सिनियर डिभिजन हाइड्रोलिजिष्ट विश्वबन्धु केसीले स्थानीयहरूको खानेपानीको अभाव हटाउन आयोजनाले छिट्टै काम सुरु गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्