बरहथवा घटना: अझै उठेन जयशंकरको शव, मृतकको नाममा प्रादेशिक अस्पतालको नामकरण गर्न माग



सर्लाही।

सर्लाहीको बरहथवामा रहेको नगरपालिकाको १५ शैय्याको नगर अस्पतालको स्तरोन्नतिको विषयलाई लिएर शुक्रबार भएको झडपमा एक जनाको मृत्यु भएपछि शनिबार दिनभरिनै बरहथवा बजार तनावग्रस्त बन्यो। शुक्रबार दिउँसो नेपाली काँग्रेस लगायतका दलेले प्रदर्शन गर्दै नगरपालिका घेराउ र तोडफोड गरेपछि बरहथवा बजार तनावग्रस्त बनेको हो।

बरहथवा नगरपालिका (६ मा रहेको १५ शैंय्याको बरहथवा प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहत संचालन हुनेगरी स्वामित्व हस्तान्तरण गर्न माग गर्दै भएको प्रदर्शनमा प्रहरीको गोली लागेर स्थानीय होटल व्यावसायिक ३० वर्षीय जयशंकर साहको घटनास्थलमै मृत्यु भएको थियोे । साहको मृत्यु भएपछि आक्रोशित भीडले मेयर कल्पना कुमारी कटुवालको घरमा तोडफोड गर्नुका साथै केही सवारीसाधनमा समेत आगजनी गरेका थिए। साहको मृत्यु प्रहरीको गोली लागेर भएको स्थानीयले दावी गरेपनि सुरक्षा अधिकारीहरुले घटनाको अनुसन्धानपछि मात्र पुष्टि गर्न सकिन्ने बताएका छन् । सर्लाही प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आन्दोलनमा गोली चलाउने आदेश नदिएको जिकिर गरे ।

गोली चलाउने आदेश दिएको छैन,त्यहाँ के कसरी गोली चल्यो अनुसन्धान पछि भन्न सकिन्छ । राजनीति दल र स्थानीयले बरहथवा बजार बन्द गराउने र नगरपालिका घेराउ गर्ने जानकारी हामीलाई थियो। प्रमुख जिल्ला अधिकारी धमला भन्छन् – हामीले त्यही अनुसार सुरक्षा व्यवस्था मिलाएका थियौ , गोली लागेर मृत्यु भएको खबर छ। मैले पनि फ‍ोटमा हेरर थाहा पाए, नगरपालिकाको कार्यालय र मेयरको निजी निवासमा तोडफोड हुनथालेपछि दोहोरो झडपको अवस्था सिर्जना भएको हो ,त्यसक्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन।घटनाको अनुसन्धान हुदैछ।’

वरहथवामा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका साह प्रदर्शनकारी नभएको नेपाली काँग्रेस ,जसपा लोसपा,जनमत पार्टी लगायतका दलेले विज्ञप्ति निकालेर जानकारी गराएका छन्। नेपाली काँग्रेसका जिल्ला सभापति सुरेन्द्रप्रसाद सिहले विज्ञप्ति जारी गर्दै प्रहरीले साहलाई टाउकोमा ताकेर गोली हानी हत्या गरेकाले तत्कालै कारबाहीको माग गरेका छन् ।त्यसैगरी अन्य दलहरूले पनि छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासन ब्यक्ति हत्यामा उद्त रहेकाले सत्यतथ्य छानबिन गरि दोषीमाथि कारबाहीको माग गरेका छन्।

स्थानीले गोली हान्ने प्रहरीलाई कारबाही हुनुपर्ने लगायतका माग राखेर शव उठाउन नदिएपछि साहको शव घटनास्थलमै रहेको हो । शव उठाउने विषयमा जिल्ला प्रशासन कार्यालय र नगरपालिकाले पहल नगरेको स्थानीयको आरोप छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीले शान्ति सुरक्षा कायम राख्न भन्दै लगाएको निषेधाज्ञालाई प्रदर्शनकारीले अवज्ञा गरेका छन् । प्रदर्शनकारीले नयाँरोड मधुवनी सडक खण्डको बरहथवामा अवरोध गरेर सडक बन्द गरेका छन् ।

स्थानीयले बरहथवाको नगर अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गरी प्रादेशिक अस्पताल कायम गर्नुपर्ने, प्रहरीको गोली लागि मृत्यु भएका जयशंकर साहको नाममा प्रादेशिक अस्पतालको नामकरण गरिनुपर्ने, मृतकलाई शहीद घोषण गरी क्षतिपूर्तिको व्यवस्थापन गरिनुपर्ने, गोली प्रहार गर्ने प्रहरी र आदेश दिने प्रहरी अधिकृतलाई निलम्बन गरी कारबाही गरिनुपर्ने र बरहथवा नगरपालिका मेयर कटुवालले राजीनामा दिनुपर्ने माग राखेका छन् ।

असोज ९ गते बसेको कार्यपालिका बैठकले १५ शैय्याको नगर अस्पताललाई मधेस प्रदेश सरकारलाई हस्तान्तरण गरि प्रादेशिक अस्पताल बनाउन सिफारिस गर्ने निर्णय गरेको थियोे । त्यही निर्णय कार्यनयन गर्न माग गर्दै नेपाली काँग्रेस लगायत दलले नगरपालिका घेराउ र आन्दोलन गरेका थिए। १७ पुसको कार्यपालिका बैठकमा बरहथवा नगर अस्पताललाई मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्ने कि नगर्ने भन्ने विषयमा विवाद भएपछि बैठक स्थगित गरेर शुक्रबारका लागि सर्वदलीय बैठक बोलाएको थियोे ।

शुक्रबार बेलुका ५ बजेदेखि लगाएको कर्फ्यु शनिबार बिहान ८ बजे हटाउदै स्थानीय प्रशासनले सम्भावित जोखिम अझै कायम रहेकाले निषेधाज्ञा जारी गरेको छ। प्रशासनले शनिबार बिहान ८ देखि आइतबार बिहान ९ बजेसम्मका लागि पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोतीरचोर्निया पुलसम्म निषेधाज्ञा जारी गरिएको छ । त्यस अवधिमा कुनै किसिमका भेला, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाद्धरा जारी सूचनामा उल्लेख गरिएको छ।

त्यसैगरी सर्लाहीको बरहथवामा भएको घटना सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयले शनिबार तीन सदस्य छानविन समिति गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम संयोजक रहने गरि छानबिन समिति गठन गरेको हो। समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली ,राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बहादुर बुढाथोकी रहेका छन्। समितिलाई साता दिनभित्र घटनाको सत्य तथ्य छानवीन गरि प्रतिवेदन पेश गर्ने गरि जिम्मेवारी दिएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । नेपाल सरकारको तर्फबाट मृतक जयशंकर साहको परिवारलाई राहत स्वरुप दशलाख रुपैया दिने पनि निर्णय भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्