गठबन्धन दलको बैठक

राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनबीच सिट बाँडफाँट हुने



काठमाडौँ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका दलहरू बिचमै सिट बाँडफाँट हुने भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सँग कुरा नमिलेकाले सत्ता गठबन्धनबिचमै राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँट गर्ने निर्णय गरेको हो ।

‘‘सरकारमा सहभागी दलहरूको गठबन्धनले चुनाव लड्छ । सत्ता गठबन्धनमा पनि आफ्नो आफ्नो हिसाबले दाबी गर्नुभएको छ, पार्टीहरूले । साँझसम्ममा टुङ्गोमा पुग्छौँ । सत्ता गठबन्धनले सदाशयतापूर्वक एउटा वृहत् लोकतान्त्रिक धारणाका साथ सकिन्छ भने सत्ता र प्रमुख प्रतिपक्ष, प्रतिपक्षका बिचमा मिलेरै जान सकिन्छ की भन्ने हो । तर सम्भव भएन । देशभरको मतको स्थितिलाई मध्यनजर गरेर र कसको राष्ट्रिय सभामा कति स्थान छ, मतभार कति कसको छ भन्नेकुरालाई मध्यनजर गरी हामी टुङ्गोमा पुग्छौँ ।’’ नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने।

बैठकका निर्णय सुनाउनुहुँदै प्रमुख सचेतक लेखकले सरकारमा सहभागी चार दलका नेताहरूको बिचमा छलफल भएको र छलफलले गठबन्धन भित्रकै दलहरूबिचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताए । उनले सरकारमा सहभागी दलहरूको गठबन्धनले राष्ट्रिय सभाको चुनाव लड्ने बताए ।

‘‘सरकारमा सहभागी चार दलका नेताहरूको बिचमा छलफल भयो । राष्ट्रिय सभाको सदस्य निर्वाचनको विषयलाई लिएर । आज पुनः ४ बजे बैठक बस्ने र ५ बजे सत्ता गठबन्धनमा सहभागी सबै दलहरूको बैठक बस्नेछ । ,’’ प्रमुख सचेतक लेखले भने , ‘‘सबैको बैठकबाट राष्ट्रिय सभा सदस्यको बारेमा टुङ्गो लगाउने निर्णय भएको छ । गठबन्धनकै बिचमा सिटको बाँडफाँट हुन्छ । सरकारमा सहभागी सहयोगी दलहरूबिचको छलफल र निर्णयले टुङ्गोमा पुग्छ ।’’

प्रमुख सचेतक लेखकले देशभरको मतको स्थितिलाई मध्यनजर गरेर सत्ता गठबन्धनका दलहरूबिच सिट बाँडफाँट हुने बताए ।

प्रतिक्रिया दिनुहोस्