चितवनमा फेरि ध्रुवे हात्तीको आतंक, एकैदिन भत्कायो ४ घर

0
Shares

चितवन ।

चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुवे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ। ध्रुवे हात्तीले बिहीबार बस्तीमा पसेर चारवटा घर भत्काइदिएको हो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुवे हात्तीले भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा चारवटा घर भत्काएको जानकारी दिए।

बुधबार साँझ माडी क्षेत्रमा देखिएको ध्रुवे हात्ती बिहीबार बिहान वयरघारी क्षेत्रमा आइपुगेको हो। ‘अन्य जंगली हात्ती शान्त भए पनि यो हात्ती उग्र बन्न थालेको छ,’ उनले भने।

केही समयअघि मात्रै ध्रुवे हात्तीलाई ‘डाट’ गरेर ‘रेडियोकलर’ जडान गरिएको थियो। रेडियोकलरबाट नियमन गरिएको भए पनि ध्रुवे बस्तीमा पस्न भने नछाडेको उनले बताए।

हात्ती बस्ती पसेको जानकारी पाएसँगै निकुञ्जका कर्मचारी, नेपाली सेना, समुदायमा आधारित संस्थामार्फत जानकारी गराउने गरिएको छ।

हात्तीलाई बस्ती पस्न नदिनका लागि स्रोत, साधनले सकेसम्म उच्चस्तरको प्रविधि प्रयोग गरिएको भए पनि रोक्न नसकिएको उनले बताए। हात्ती बस्तीमा पस्न थालेपछि निकुञ्जले निकुञ्ज आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

Skip This