रुस–युक्रेन युद्धमा स्याङ्जाका थप एक युवकको मृत्यु



स्याङ्जा ।

रुसी सेनामा भर्ती भएका स्याङ्जाका २३ वर्षीय युवकको मृत्यु भएको छ। वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको युद्धका क्रममा मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

गत पुस १२ गते उहाँको मृत्यु भएको बताइएको छ। उहाँ नेपाली सेनाको जागिर छाडेर रुसी सेनामा भर्ती हुन दुवई हुँदै रुस पुग्नुभएको थियो।रुसी फौजमा भर्ती भएका अर्याल लडाईमा मारिएको पारिवारिक स्रोतले पनि पुष्टि गरेको छ।

उहाँ गत कात्तिक ३ गते मात्रै रुस गएको स्थानीय डण्डपानी पंगेनीले बताउनुभयो। पंगेनीले भन्नुभयो– ‘मारिएका अर्याल दुबई हुँदै त्यहाँ पुग्नुभएको रहेछ। चार दिन दुबईमा ट्रान्जिट पारेर रुस पुगेको र त्यहाँको फौजमा भर्ती भएको खुलेको छ।’

नेपाल आर्मीमा खाइरहेको जागिरमा नाम काटेर आई अर्याल रुस पुगेको पंगेनीले बताउनुभयो। पंगेनीले भन्नुभयो– ‘उहाँ तीन वर्षजति नेपाली सेनामा कार्यरत रहेको र जागिर छाडेको ३ महिना पनि भएको छैन्।’

अनौपचारिक माध्यमबाट यसअघि नै अर्याल मारिएको खबर आए पनि सरकारी संयन्त्रले नै त्यसको पुष्टि गरेपछि आधिकारिकता भएको पंगेनीले बताउनुभयो। मृतक अर्याल तीन दाजुभाइमध्ये कान्छो भएको तथा अविवाहित रहेको बुझिएको छ।

रुसी सेनामा भर्ती भएपछि अर्याल निरन्तर परिवारको सम्पर्कमा रहनुभएको थियो। घटना हुनु भन्दा एक दिन अगाडिसम्म सम्पर्कमा रहेको परिवारले जनाएको छ।

अर्यालले सामाजिक सञ्जाल फेसबुकमा सेनामा भर्ती भएको र साथीसँगै हिँडेको भिडियो र तस्बिर राख्नुभएको देखिन्छ। यसअघि स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का पितम कार्कीको पनि सोही क्रममा मृत्यु भएको थियो। यो सँगै जिल्लाबाट रुसी सेनामा भर्ती भएर ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।

रुसमा भएको युद्धमा मृत्यु हुने नेपालीको संख्या अझै धेरै हुन सक्ने आँकलन गरिएको छ। अवैध बाटो हुँदै दलालको चंगुलमा फसेर हजारौँ नेपाली रुसी सेनामा पुगेको बताइन्छ।

युक्रेनविरुद्धको युद्धपछि रुसले नेपालीलाई आफ्नो सेनामा भर्ती गराइरहेको छ । उसले सैन्य समूहमा न्यूनतम एक वर्ष सेवा गर्ने विदेशीलाई नागरिकता नै दिने र अन्य सेवामाभन्दा चार गुणा बढी तलब दिने गरी कानुन जारी गरेपछि नेपाली युवाको आकर्षण बढेको छ ।

प्रतिक्रिया दिनुहोस्