पाउलाद्वारा निगेलमाथि उत्पीडनको आरोप



एजेन्सी ।

चर्चित अमेरिकी गायिका पाउला दब्दुलले आफूमाथि करिब दुई दशकअघि भएको यौन उत्पीडनबारे खुलासा गरेकी छन्।

उनले सन् २००० को सुरुवातमा ब्रिटिस टेलिभिजनका कार्यकारी निर्माता एवम् रियालिटी शो अमेरिकन आइडलका पूर्वनिर्माता निगेल लिथगोले आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी हुन्।

सो बेला आफू अमेरिकन आइडलको निर्णायक भएको र लिफ्टमा रहेको बेला यौन दुर्व्यवहार गरेको उनले खुलासा गरेकी छन्।

समाचार एजेन्सीका अनुसार उनले लस एन्जलसको काउन्टी उच्च अदालतमा पेश गरेको अभियोगपत्रमा अमेरिकी आइडलको अडिसनको एक दिनपछि एक होटलको लिफ्टमा सँगै यात्रा गरिरहेको बेला निगेलले आफ्ना गोप्य अंगहरूमा छोएको र आपत्तिजनक क्रियाकलाप गर्न थालेको उल्लेख गरेकी छन्।

त्यसपछि आफूले निगेललाई पछाडि धकेल्ने कोशिस गरेको र सो परिस्थितिबाट बच्ने क्रममा लिफ्टको ढोका खुल्नेबित्तिकै भागेको उनले खुलाएकी छन्।

घटनापछि तुरुन्त आफ्नो प्रतिनिधिलाई सो समयका अमेरिकन आइडलका निर्माता लिथगोको व्यवहारबारे बताए पनि जागिर जाने डरले कुनै कारबाही नगरेको, तर उनीसँग बोल्नको लागि रोकिदिएको उनले बताएकी छन्।

पाउलाले आफूमाथि दोस्रोपटक पनि शोषण गरेको आरोप लगाएकी छन्। सन् २०१५ मा आफू टेलिभिजन कार्यक्रम सो यु थिंक यु क्यान डान्समा निर्णायकको रूपमा काम गर्ने बेला निगेलले आफ्नो घरमा खाना खान बोलाएर दुर्व्यवहार गरेको र आफ्नो एक सहायकमाथि पनि हमला गरेको आरोप लगाएकी छन्।

सो कार्यक्रमको निर्माता र निर्णायकको रूपमा काम गरेका निग र पाउलाले दुई सिजनसम्म काम गरे पनि त्यसपछि भने एउटै कार्यक्रममा देखिएका छैनन्। निगेलले भने सो आरोप अस्विकार गरेका छन्।

‘दुई दशकभन्दा धेरै समयदेखि म र पाउला साथीको तथा सहकर्मीको रूपमा कुराकानी गर्दै आइरहेका छौँ। तर, अहिले अचानक मैले सञ्चार माध्यममार्फत उनले ममाथि लगाएको आरोपबारे थाहा पाएँ। जुन कुराले म हैरान भएको छु र यो आरोप सरासर झुटो हो’ टिएमजेडसँगको कुराकानीमा उनले भनेका छन्।

गायनको साथमा नृत्यका कारण पनि चर्चामा रहने ६१ वर्षीय पाउलाले २००० को दशकमा अमेरिकी रियालिटी शोहरूमा निर्णायकको रूपमा निकै लोकप्रियता हासिल गरेकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्