गण्डकी विश्वविद्यालयमा नियमविपरीत आंशिक शिक्षक नै डीन !

पाँच संकायका एकै डीन, अख्तियारमा उजुरी



पोखरा ।

गण्डकी विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन कपिल अधिकारीविरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुईवटा उजुरी परेका छन्। अधिकारीको डीन नियुक्तको विषयलाई लिएर उजुरी परेको हो।

विद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली, २०७७ विपरीत अधिकारीलाई डीन नियुक्त गरेको भन्दै छानबिनसहित कारबाहीको माग गर्दै अख्तियारमा उजुरी परेको हो। गण्डकी विश्वविद्यालयको स्नातक तहमा पाँच शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

तर, अधिकारीलाई पाँच शैक्षिक कार्यक्रमको डीनको रूपमा कार्यभार सञ्चालनको जिम्मेवारी दिइएको छ। गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको ऐनले पनि स्पष्ट रूपमा संकायअनुसार डीन रहने व्यवस्था गरेको छ।

उक्त ऐनको दफा २९ (१) मा भनिएको छ– ‘संकाय प्रमुखका रूपमा कार्य गर्न प्रत्येक संकायमा एक जना डीन रहने छ ।’ ऐनअनुसार चार संकायमा डीन नियुक्त भएका छैनन्।

गण्डकी विश्वविद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली, २०७७ को परिच्छेद–को नियम ४६ मा डीनको व्याख्या गरी डीनको व्यवस्था योग्यता र अनुभवको आधारमा गरिने छ भनी उल्लेख छ।

सोही नियमावलीको नियम ४६ को उपनियम (१) मा लेखिएको छ, ‘सम्बन्धित संकायका प्राध्यापक वा सह–प्राध्यापकमध्येबाट डीनको नियुक्ति गरिने छ ।’ सोअनुसार भने भएको देखिँदैन।

विश्वविद्यालयकै एक व्यक्तिले परीक्षाका दौरान विद्यार्थीले फ्याकल्टीमा विज्ञान तथा प्रविधि लेख्न बाध्य भएको सुनाउनुभयो । उहाँका अनुसार संकाय नै फरक हुँदा पनि विज्ञान तथा प्रविधिकै लेख्नुपर्ने बाध्यता छ।

‘विज्ञान तथा प्रविधिभन्दा बाहिरका विद्यार्थीले समेत सोही विषय लेख्नपर्ने बाध्यता छ। विद्यार्थीले पाउने ट्रान्सकिप्ट (लब्धाङ्क) मा फरक संकायको डीनको हस्ताक्षर हुने भयो’, उहाँले भन्नुभयो– ‘भोलि यसले गर्दा त्यो ट्रान्सकिप्ट नै अवैध हुन्छ।’

अधिकारीलाई नै डीन बनाउन ऐनविपरीत सूचना विज्ञापनसमेत गरिएको थियो। सूचनाको योग्यतामा भनिएको छ– ‘विज्ञान तथा प्रविधि विषयमा विद्यावारिधि गरेको, ८ वर्ष अध्यापन (स्नातक तह वा सोभन्दा माथिल्लो तहमा) अनुसन्धानसम्बन्धी अनुभव र स्नातकोत्तर तहको सुपरभाइजर/सह–सुपरभाइजर भई कम्तीमा ३ वटा शोधको सुपरिवेक्षण गरेको र पियर रिभ्यु जर्नलमा कम्तीमा पाँचवटा अनुसन्धानात्मक लेख प्रकाशन गरेको हुनुपर्ने छ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख आसमान तामाङले उजुरी परेको पुष्टि गर्नुभयो। यस्तै, गण्डकी विश्वविद्यालयका कुलपति डा. गणेशमान गुरुङसँग यो विषयमा जानकारी लिन खोज्दा दुई दिनसम्म उहाँको फोन उठेन।

विश्वविद्यालयका रजिस्टार कैलाश तिमिल्सिनाले विश्वविद्यालय भर्खरै स्थानपना भएकाले तत्कालै ऐनबमोजिम डीन नियुक्त गर्न नसक्ने रेडिमेड जवाफ दिनुभयो।

‘हामी भर्खरै स्थापना भएका छौं । तपाईंले भनेझैँ प्राध्यापक वा सहप्राध्यापमकमध्येबाटै डीन हुनुपर्ने हो तर त्यसका लागि विश्वविद्यालयमा पनि त सोसरहको शिक्षक हुनुपर्‍यो। बल्ल संरचना बन्दै छ’, उहाँले भन्नुभयो– ‘पाँच संकायमा पाँच डीन राख्न सक्ने स्थिति छैन। सबैलाई सोहीअनुसारको व्यवस्था गर्नुपर्छ त्यसका लागि विद्यार्थीहरू बढ्नुपर्छ यो पछि हुन्छ भन्नेमा आशावादी छौं।’

विश्वविद्यालयले दिएको यो गैरजिम्मेवारी जवाफ हो । आंशिक शिक्षकलाई डीन नियुक्त गर्नुको पछाडि त्यहाँ आफन्तवाद भएको स्रोतको दाबी छ। पृथ्वीनारायण क्याम्पसका (पीएन) प्रमुख सरोज कोइरालाले आशिंक शिक्षक र प्राध्यापकमा धेरै फरक भएको बताउनुभयो।

उहाँले कपिल अधिकारी डीन हुनुअघि पीएन क्याम्पसका आंशिक शिक्षक भएको जानकारी दिनुभयो। ‘उहाँ पहिला आंशिक शिक्षक हुनुहुन्थ्यो। अहिले डीन हुन जानुभएको छ’ –उहाँले भन्नुभयो।

गण्डकी विश्वविद्यालयले हाल खेलकुद व्यवस्थापन (बीएसएम), सूचना प्रविधि (बीआईटी), फार्मेसी (बी.फार्म), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) र ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल (बीए.एलएल.बी) को कार्यक्रम सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्