म्यानहन्ट इन्टरनेसनल नेपालको अडिसन भोलिबाट



काठमाडौं ।

पुरुषहरूको सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेसनल नेपाल यस वर्ष पनि हुने भएको छ। ग्रुप अफ इभेन्ट इन्टरटेनर्स (जीईई) को आयोजनामा १३औं संस्करणको पुरुषहरूको सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ हुने भएको हो।

आयोजक ग्रुप अफ इभेन्ट इन्टरटेनर्सका अध्यक्ष अनुप सक्सेनाका अनुसार नयाँ संस्करणको म्यानहन्ट इन्टरनेसनल नेपालका लागि भोलि शनिबारबाट अडिसन शुरु गरिनेछ।

म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ का लागि पहिलो अडिसन राजधानीको त्रिपुरेश्वरस्थित जस्मिन फिटनेस एन्ड स्पामा बिहान ११ बजे हुनेछ।

प्रतियोगितामा स्पर्धा गर्नका लागि उचाइ कम्तिमा ५.८ फुट हुनुपर्ने तथा १८ देखि ३४ वर्षको उमेर समूहका युवाले भाग लिन सक्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, न्यूनतम प्लस टु पढेका युवाले यसमा सहभागिता जनाउन सक्नेछन्। सक्सेनाका अनुसार विवाहित र अविवाहित दुवैले प्रतियोगितामा स्पर्धा गर्न सक्नेछन्। यसअघिका म्यानहन्ट इन्टरनेसनल नेपालका विजेता विभिन्न क्षेत्रको स्थापित नाम बनेका छन्।

यसअघि क्रमश : अभिनेता प्रशान्त ताम्राकार, युवा व्यवसायी सुऋत ज्योति, अभिनेता अनुपविक्रम शाही, अभिनेता तथा मोडल समिन खान र आयुष्मान देशराज जोशी श्रेष्ठ, अभिनेता सुशिल श्रेष्ठ र कान्जी कोइराला, कल कान्तिपुरका भिजे सुदित श्रेष्ठ, अभिनेता तथा मोडल निरज थापा र ध्रुव बुढाथोकी, मोडल विकल्प श्रेष्ठ, राइडर तथा मोडल विवेश श्रेष्ठ र अभिनेता प्रकाश शाह म्यानहन्ट इन्टरनेसनल नेपालका विजेता भएका थिए।

प्रतिक्रिया दिनुहोस्