द्रुतमार्ग र नेपाली सेना



काठमाडौं ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा चर्चामा रहेको काठमाडौं–तराई र मधेस द्रुत सडक आयोजनाको निर्माणका विषयमा संसदीय समितिले तोकिएकै समयमा आयोजना सम्पन्न गर्न आयोजना निर्माणको जिम्मा लिएको नेपाली सेनालाई निर्देशन दिएको छ।

आउँदो तीन वर्षभित्र आयोजना सम्पन्न गर्नुपर्ने दबाबमा नेपाली सेना रहेको छ। संंसद्को राज्य व्यवस्था समितिले उक्त आयोजना समयमा सक्न दबाब दिन प्रधान सेनापतिलाई नै समितिको बैठकमा बोलाएको थियो।

समितिमा रहेका सांसदहरुले सेनालाई अतेरपतेर पार्ने कामसमेत गर्न भ्याएका थिए। सेनाले समयमा काम नगरेको, सरकारको निर्देशन नमानेको जस्ता आरोप समितिका सदस्यहरुले लगाएका थिए।

द्रुतमार्ग निर्माणमा के–कस्ता समस्या छन्, समस्या समाधानमा सरकारले सहयोग गरेका छन् कि छैनन् ? भनेर प्रश्न राख्नुपर्नेमा कसैको ध्यान जान सकेको देखिएन। आयोजना निर्माणले गति लिएको भए पनि सरकारी निकायबीचको समन्वयको अभावका कारण निर्माणमा देखिएको समस्या समयमा समाधान हुन नसक्दा आयोजना तोकिएकै समयमा सम्पन्न हुनेमा आशंका व्यक्त गर्न थालिएको छ।

बैठकमा सहभागी प्रधानसेनापति प्रभुराम शर्माले द्रुतमार्ग आयोजनाभित्र पर्ने रुख कटान गर्नका लागि प्रधानमन्त्री र रक्षामन्त्रीलाई अनुनय विनय गरेको चार महिनामा पनि रुख काट्न नपाएपछि तोकिएको समयमा आयोजना कसरी सम्पन्न गर्न सकिन्छ भनेर माननीयहरुलाई प्रश्न गर्दा माननीयहरु नाजवाफ हुनुपरेको थियो।

आयोजना कसरी सञ्चालन भएको छ भन्ने सामान्य ज्ञानसमेत नभएका माननीयबाट मुलुक बन्छ भनेर आशा राख्नु व्यर्थको विषय बन्दै गएको छ।

काठमाडौं–तराई र मधेश द्रुत आयोजना निर्माणमा देखिएका समस्या समाधान गर्न सरकारले समयमा नै पहल नगरिदिने अनि आयोजना समयमा नै सक्नुपर्ने भन्दै पानीमाथि ओभानो बन्न खोज्ने सरकार र समितिका सदस्यहरुको चरित्रमाथि प्रश्न उठाउनुपर्ने बेला भएको छ।

कुनै पनि आयोजना समयमा नै सम्पन्न गर्न आयोजना स्थलवरपरको वातावरण स्वच्छ र सहज हुनुपर्दछ तर द्रुतमार्गको प्रवेशद्वारदेखि नै समस्या नै समस्या देखिने गरेको छ।

त्यसैले सरकारमा सामेलहरुले मिडियामा स्टन्ट गर्नुभन्दा पनि त्यहाँको वातावरण सहज बनाउनेतर्फ लाग्न सकेमात्रै यो समस्याको समाधान होला, नत्र परिस्थिति सोचेजस्तो सहज देखिँदैन।

सडक निमार्णको जिम्मेवारी लिएको नेपाली सेनाले पनि सानातिना समस्याको समाधान आफैँले गर्दै अघि बढेर नेपालको मुहार फेर्ने उक्त आयोजना समयमा नै सम्पन्न गरी जनताको मनमा बस्न सक्नुपर्दछ।

हो, काम गर्दा समस्या नआउने होइन तर समस्या आयो भन्दैमा त्यसलाई इस्यु बनाउनुहुँदैन। देशभरका अप्ठ्यारा सडक निर्माण गरेर जनताको मनमा बस्न सफल भएको सेनाले यो आयोजना पनि तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष्य राख्नुपर्दछ। यसतर्फ राज्यको ध्यान जान जरुरी देखिन्छ।

प्रतिक्रिया दिनुहोस्