धनगढीको महोत्सवमा पल शाहको ३ तोला सुनको ब्रासलेट हरायो



काठमाडौं । कैलालीको धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा नायक पल शाह (पूर्णविक्रम शाह)को ब्रासलेट हराएको छ। शनिबार शाहको करिब ३ तोला सुनको ब्रासलेट हराएको हो।

महोत्सवमा प्रस्तुति दिइरहेका बेला फ्यानसँग हात मिलाउने सिलसिलामा ब्रासलेट झरेको हुन सक्ने आयोजकले जनाएको छ। महोत्सवमा शनिबार करिब १ लाख बढी दर्शक आएको उद्योग वाणिज्य महासङ्घ कैलालीले जनाएको थियो।

ब्रासलेट खोज्न सिसिटिभी हेरिएपनि अहिलेसम्म फेला नपरेको महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले बताए। शाहले ब्रासलेट हराएकोमा कुनै दुख व्यक्त नगरेको र त्यसलाई धनगढीको मायाका रुपमा लिएको कुँवरले बताए।

उद्योग वाणिज्य महासङ्घ कैलालीले आयोजना गरेको महोत्सव गत मंसिर २२ देखि नियमित चलिरहेको छ। पुस २ गतेसम्म चल्ने भनेर आयोजना भएको महोत्सव तीन दिन थप गरिएको छ।

प्रतिक्रिया दिनुहोस्