मण्डलामा पगला घोडा



काठमाडौं ।

थिएटर आकारको प्रस्तुतिमा राजधानीको मण्डला नाटक घरमा आगामी पुस १२ गतेदेखि माघ ६ गतेसम्म नाटक पगला घोडा मञ्चन हुने भएको छ।

नाटक सोमबारबाहेक हरेक दिन मञ्चन हुने र शनिबार दुई सो राखिएको आयोजकले जानकारी गराएका छन्। भारतीय नाटककार बादल सरकारको कथा रहेको नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो।

बादल सरकार १९७० को दशकमा प्रगतिशील स्थापना विरोधी नाटकका लागि परिचित थिए। नाटक निर्देशक घनश्याम श्रेष्ठले निर्देशन गरेका छन्।

पछिल्लो समय विभिन्न कारणले युवा वर्गमा वृद्धि भइरहेको आत्महत्या गर्ने संवेदनशील विषयवस्तुलाई दर्शकमाझ कलामार्फत सम्बोधन गर्न र यस अवस्थाको बारेमा मानिसलाई सचेत गराउन नाटकको परिकल्पना गरिएको निर्देशक श्रेष्ठ बताउँछन्।

अहिले समाजमा भईरहेका घटनालाई दर्शकसामु प्रत्यक्ष रुपमा देखाउन पगला घोडा एक उत्कृष्ट कथा हुने उनको भनाइ छ।

नाटकमा प्रमोद अग्रहरि, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, विम्ब अधिकारीलगायतका रंगमञ्चका अब्बल कलाकारले अभिनय गर्नेछन्। नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन्।

उनलाई अनुवादमा आलेख सुपरिवेक्षकको रूपमा कलाकार तथा निर्देशक आशान्त शर्माले सहयोग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्