पौड्यालको झरनाको पानी विमोचित 



काभ्रे ।

नेपाली साहित्यमा लामो समयदेखि कलम चलाउँदै आएका कवि गोपाल पौड्याल मण्डनेको मुक्तक सङ्ग्रह झरनाको पानीको लोकार्पण भएको छ। सो कृतिको विमोचन एक समारोहबीच वरिष्ठ साहित्यकारद्वय मोहन दुवाल र सूर्यप्रसाद लाकोजूले गरेका छन्।

कार्यक्रममा प्रमुख अतिथि दुवालले मुक्तकमा मानिसलाई आकर्षण गर्ने शक्ति भएको कारणले लोकप्रिय रहेको बिचार राखे। उक्त कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै साहित्यकार रामसुन्दर देउजाले झरनाको पानीमा नेपाली समाजको यथार्थ चित्रण रहेको बताए।

अर्का टिप्पणीकार तुयुकाजी ताम्राकारले मुक्तककार मण्ड्नेको योगदान नेपाली साहित्यमा उल्लेखनीय रहेको बताए। मुक्तक सङ्ग्रहमा मानव जीवनका भोगाई, अनुभूति रहेकाले पाठक को मनलाई सहजै स्पर्श गर्न सक्ने बिचार मुक्तककार पौड्यालले व्यक्त गरे। सो मुक्तक सङ्ग्रहमा विभिन्न विषय र प्रसङ्गमा रचिएका १०१ ओटा मुक्तक रहेका छन्।

राष्ट्र प्रेम, संस्कृति प्रेम, प्रकृति प्रेम, सामाजिक मेलमिलाप, संस्कृतिको महत्त्व झल्काउने विभिन्न विषयहरूमा रचिएका मुक्तकहरूले पाठकको मन आकर्षित गर्न सक्दछन्। देशभक्ति, नैतिकता, सामाजिक मूल्य र मान्यताको सन्देश मुक्तकहरूले दिएको छ।

समसामयिक राजनैतिक घटनाका विषयमा पनि मुक्तक बगेको छ। पुस्तकमा विविध विषयका मुक्तकहरू समावेश गरिएका छन्। कवि मण्डनेका विविध विधाका करिब दुई दर्जन साहित्यिक कृति प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्