लायन ५ सयौं विकेट निकट



एजेन्सी ।

नाथान लायन टेस्ट क्रिकेटमा ५ सयौं विकेट निकट पुगेका छन्। पाकिस्तानविरुद्धको पहिलो टेस्टमा अस्ट्रेलियाका बलर लायनले ३ विकेट लिएका हुन्। योसँगै उनको टेस्ट क्रिकेटमा ४ सय ९९ विकेट भएको छ।

तेस्रो दिनको खेल समाप्तिसम्म पाकिस्तानी टोली २ सय ७१ रनमा अलआउट भएको थियो। जबकी टोलीले २ विकेटको क्षतिमा १ सय ३२ रनबाट खेलको शुरुवात गरेको थियो।

अस्ट्रेलियाले दोस्रो इनिङमा २ विकेटको क्षतिमा ८४ रन बनाउँदा पाकिस्तानविरुद्ध ३ सय रनको अग्रता समेत लिएको छ। इमाम उल हकले १ सय ९९ बलको सामना गर्दा मात्र ६२ रन जोडेका थिए।

उनी अघिल्लो दिन १ सय ३६ बलमा ३८ रन बनाएर नटआउट रहेका थिए। उनको लागि नाइटवाचम्यानको रुपमा खुरम शहजाद थिए। उनी तेस्रो दिनको तेस्रो बलमा प्याट कमिन्सको बलमा आउट भए।

यसपछि बाबर आजम र इमामले ४९ रनको साझेदारी गरे। यो पाकिस्तानी इनिङमा ठूलो साझेदारी साबित भएको थियो। तर, बाबरले पनि लामो समय क्रिजमा टिक्न साहस गर्न सकेनन्।

उनी २१ रनमा मिचेल मार्शको बलमा आउट भए। इमाम पनि आउट भएपछि पाकिस्तानको ब्याटिङ धर्मराएको थियो। अस्ट्रेलियाको दोस्रो इनिङ पनि निकै खराब भएको थियो।

५ रन जोड्दा दुई विकेट गुमाएको थियो। डेभिड वार्नर शून्यमा र मार्नस लाबुसाने २ रनमा आउट भएका थिए। दुबै विकेट डेब्यु गरेका शहजादले लिए। तर, उस्मान ख्वाजा र स्टिभ स्मिथले तेस्रो विकेटका लागि ७९ रन जोेडेका छन्। अस्ट्रेलियाले पहिलो इनिङमा ४ सय ८७ रन जोडेको थियो।

प्रतिक्रिया दिनुहोस्