पल शाहविरुद्वको फाइल फेरि खुल्ने



काठमाडौं ।

नाबालिग बलात्कारको अभियोगमा सफाइ पाएका नायक पल शाह (पूर्णविक्रम शाह) को फाइल फेरि खुल्ने भएको छ। नाबालिग बलात्कारको अभियोगमा उनलाई सफाइ दिने उच्च अदालत पोखराको फैसला सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्न अनुमति दिएपछि उनको सो फाइल फेरि खुल्ने भएको हो।

उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई उक्त मुद्दामा सफाइ दिएको थियो। उनलाई सफाइ दिने फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्‍याएर हेरिपाऊ“ भन्दै निवेदन दिएपछि सर्वोच्चले पुनः फाइल खोल्न अनुमति दिएको हो।

महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनमा मंसिर २२ गते सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमा र हरि फुयाँलको इजलासले उच्च अदालतको फैसला दोहोर्‍याएर हेर्न अनुमति दिएको हो।

उच्च अदालतका न्यायाधीशले सो मुद्दामा प्रमाणको मूल्यांकन राम्रोसँग नगरेको, कानुनको व्याख्या त्रुटिपूर्ण तरिकाले गरेको र नाबालिग बलात्कारका मुद्दामा सर्वोच्च अदालते प्रतिपादन गरेका सिद्धान्तको प्रतिकुल हुने गरी सफाइ दिएको भन्दै सर्वोच्चले दोहोर्‍याएर हेर्ने भएको हो।

‘पीडित नाबालिग रहेको देखिएकोले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादीबीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानको स.ज. ११ मा गरेको स्वीकारोक्ति समेतका प्रमाणको समुचित मूल्यांकन नगरी भएको उच्च अदालत पोखराको फैसलामा प्रमाण ऐन तथा मुलुकी अपराध संहिताको व्याख्यात्मक त्रुटि र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको प्रतिकुल भएकाले प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान गरिएको छ’ सर्वोच्चको आदेशमा भनिएको छ।

नवलपुर जिल्ला अदालतले पललाई सफाइ दिने गरी गरेको फैसलाविरुद्ध उच्च अदालतमा सरकारी वकिलले निवेदन दिएको थियो। नवलपुर अदालतले शाहलाई बाल यौन दुरुपयोगमा दुई वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो।

सो फैसलाविरुद्ध पलले पनि निवदेन दिएपछि दुवै निवेदन सँगै राखेर हेरेको उच्च अदालतले पललाई पूर्ण सफाइ दिएको थियो। शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै पीडितले २०७८ फागुन ११ गते तनहु“ र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।

बकपत्रका क्रममा भने जोहेरीकर्ताले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्। त्यही आधारमा उच्च अदालतले सफाइ दिएको थियो। मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले पनि सफाइ दिएको छ।

प्रतिक्रिया दिनुहोस्