१७ वर्षपछि सिन्दूर फर्काउँदै प्रज्ञा



काठमाडौं

फिल्म अभिनेत्री तथा निर्मात्री प्रज्ञा जोशी १७ वर्ष लामो अन्तरालपछि पुनः फिल्म निर्माण क्षेत्रमा फर्किएकी छन्। सानो र ठूलो पर्दाको फिल्म निर्माण गर्दै आएकी उनले १७ वर्षपछि टेलिसिरियल सिन्दूर निर्माण गर्ने भएकी छन्।

गत शुक्रबार राजधानीको भद्रकाली मन्दिरमा शुभ मुहूर्त गर्दै सिन्दूर निर्माणको औपचारिकरूपमा निर्माण घोषणा गरिएको हो। प्रज्ञाले १७ वर्षअघि पनि सिन्दूरकै नाममा टेलिसिरियल निर्माण गरेकी थिइन्।

१७ वर्षअघि सुपरहिट भएको टेलिसिरियल अहिलेको पुस्तालाई मध्यनजर गर्दै निर्माण गर्न लागेको अभिनेत्री तथा निर्मात्री जोशीले बताइन्। पहिलेको सिन्दूरका पुराना कलाकार नेपाल बाहिर भएकाले यसपटक आफूले नया“ कलाकारलाई लिएर काम गर्न लागेको प्रज्ञाले जानकारी गराइन्।

विनयराज पौडेलको लेखन तथा निर्देशन रहने सिरियलमा नविन श्रेष्ठ, प्रज्ञा जोशी, लक्ष्मी भुसाल, प्रदीपराज गिरी, अश्मी थापा, दीपेन्द्र सोनाम, स्नेहा पौडेल, पूर्णिमा जीएम, टेकेन्द्र न्यौपाने, पवन केसीलगायतका कलाकारले अभिनय गर्नेछन्।

विनयले १२ वर्ष अघि सिन्दूर नामक फिल्मबाटै सहायक निर्देशकका रूपमा फिल्म क्षेत्रमा प्रवेश गरेका थिए। करिब १२ वर्षपछि यही नामको सुपरहिट सिरियलमा निर्देशकको जिम्मेवारी बहन गर्ने जिम्मा पाएकोमा विनयले हर्ष व्यक्त गरे।

निर्मात्री जोशीका अनुसार सिरियलको सुटिङ अर्को साताबाट हुनेछ। प्रज्ञा फिल्मसको ब्यानरमा निर्माण हुने टेलिसिरियलमा लय संग्रौलाको गीत लेखन, सम्राट थापाको संगीत र मदन कश्यप घिमिरेको छायांकन रहनेछ।

प्रतिक्रिया दिनुहोस्