एमालेको एकल बहुमतको सरकार बिना देशका समस्या समाधान हुँदैन : अध्यक्ष ओली



पाँचथर ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा पहाडको अवस्था र समस्या बुझेको बताउनुभएको छ । अभियान अन्तर्गत शनिबार पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतामा गुम्दै गएको विश्वास जगाउन नेकपा एमाले सफल भएको बताउनुभयो ।

नेकपा एमाले फुटाउन र सिद्धाउन प्रयास गरिएको भए पनि एमाले त्यसलाई चिर्दै देशको पहिलो राजनीतिक शक्ति बनेको उहाँले बताउनुभयो । ओलीले अब एमालेलाई त्यतिले मात्र नपुगेको बताउनुभयो । देश विकासको लागि एमालेलाई एकल बहुमतको सरकार आवश्यक रहेको उहाँले बताउनुभयो । त्यसले एमालेले मिसन २०८४ भनेको उहाँले सुनाउनुभयो ।
नेकपा एमालेको एउटै उद्देश्य र गन्तव्य देशको हित भएको उहाँले प्रष्ट पार्नुभयो ।

त्यसको लागि एमालेलाई प्रमुख र बलिया राष्ट्रिय शक्ति बनाउन उहाँले आग्रह गर्नुभयो । ‘एकल बहुमतको सरकार बिना यो समस्या समाधान हुँदैन’, उहाँले भन्नुभयो । देशमा राजनीतिक, अस्थिरता, अन्योल र अराजकता बढ्दै गएको ओलीले बताउनुभयो । आर्थिक हिसाबले देशमा उत्पादन घटेको, युवा विदेश पलायनको दर बढेको र युवालाई सरकारले देशमा बस्ने आधार नै दिन नसकेको उहाँले बताउनुभयो । ‘देश कंगाली तर्फ धकेलिँदै छ’, उहाँले भन्नुभयो ।

एमाले देशको रक्षाको पक्षमा रहेको उहाँले स्पष्ट पार्नुभयो । आज सरकारको अयोग्यताको कारण देश नै संकटमा परेको ओलीले बताउनुभयो । मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा भोलि पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्