राजनीतिक भगवण्डा बन्द गर



काठमाडौं ।

मुलुककै सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालयमा फेरि राजनीतिक भागवण्डा शुरु भएको छ। सरकार आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र समाजवादी पार्टीले आफू अनुकूलको उपकुलपतिलगायत पदाधिकारी नियुक्ति गर्न रस्साकस्सी शुरु गरेका छन्।

त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका व्यक्तिलाई उपकुलपति नियुक्ति गर्न जोडबल गरेका छन्।

त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षामन्त्री अशोककुमार राईले जसपालाई पनि पदाधिकारीको भागवण्डा खोज्नुभएको छ। माओवादी केन्द्रले उपकुलपति लिए नेपाली कांग्रेसले रजिस्ट्रार लिने र कांग्रेसले उपकुलपति छाने माओवादी केन्द्रले रजिस्ट्रार लिने गरी तयारी भएको छ । बाँकी पदमा सरकार आबद्ध अन्य दलबीच सहमति गर्ने तयारी भएको छ।

त्रि.वि.मा रजिस्ट्रारको पदावधि पुस ९ गते सकिँदै छ । रजिस्ट्रारको पदावधि सकिएपछि त्रि.वि.मा उपकुलपति, रेक्टर, रजिस्टार र त्रि.वि. सेवा आयोगको एकजना सदस्यको पद रिक्त हुन्छ । त्रि.वि.मा राजनीतिक भागवण्डा गर्न नहुने चर्चा चलिरहँदा सरकार आबद्ध दलका नेता भने भागवण्डाबाट पदाधिकारी नियुक्ति गर्न लागिपरेका छन्।

उपकुलपति प्रा.डा. बास्कोटाको पदावधि सकिएपछि तीन महिने उपकुलपतिको बागडोर सम्हालेका प्रा.डा. शिवलाल भुसालले पनि उपकुलपतिमा इच्छा जाहेर गरेका छन्। माओवादी कोटाबाट रेक्टर भएका उपकुलपति प्रा.डा. भुसाल आफू पूर्ण कार्यकालका लागि उपकुलपति हुनुपर्ने दाबी पेस गरेका छन्।

बर्सेनि विद्यार्थीको संख्या घटेर बिजोग बन्न थालेको त्रि.वि.मा भागवण्डाबाट पदाधिकारी नियुक्ति गर्दा झनै समस्या देखिने प्रायः निश्चित छ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त्रि.वि.को पदाधिकारीमा आफ्नो भाग खोज्नुभएको छ।

यसअघिका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको कार्यकाल कार्तिक १८ मा सकिएको थियो । प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले कार्तिक १९ गते सर्च कमिटी गठन गर्नुभएको थियो । भागवण्डाको विषयमा कुरा नमिल्दा सर्च कमिटीको बैठक आजसम्म बस्न सकेको छैन।

त्रि.वि.का सहकुलपति एवं शिक्षामन्त्री राईको अध्यक्षतामा बनेको सर्च कमिटीमा शिक्षा सचिव सुरेश अधिकारी र त्रि.वि.का बौद्ध अध्ययन विभागका प्रमुख डा. चन्द्रकला सदस्य छन्।

राजनीतिक भागवण्डामा उपकुलपतिसहितको पदाधिकारी नियुक्ति हुने भएपछि उपकुलपति र पदाधिकारीको दौडमा रहेका आकांक्षीहरु शक्तिकेन्द्र धाउन थालेका छन्। उनीहरु अफ्नो पार्टी निकट अनुसार त्रि.वि.का प्राध्यापक संघ र संगठनका पदाधिकारीसँग भेट गरी गुहार माग्न थालेका छन्।

दौडमा माओवादी केन्द्र निकट त्रि.वि.का पूर्व राजिस्ट्रार एवं राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल र नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. लेखनाथ शर्मा, नेपाली कांग्रेस निकट त्रि.वि.का पूर्वउपकुलपति प्रा.डा. तीर्थराज खनिया र त्रि.वि.का पूर्वशिक्षाध्यक्ष गुणनिधि न्यौपाने छन्।

त्रि.वि. सुधार गर्न कस्सिएका शिक्षाविद् र पूर्वउपकुलपतिसहितका पदाधिकारीले राजनीतिक भागवण्डाभन्दा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति हुनुपर्नेमा जोड दिएका छन्। त्यसो भएमा त्रि.वि.को साख जोगिने धारणा राखेका छन्।

कुलपतिले विवेक पुर्‍याउने हो भने खुला प्रतिस्पर्धाबाटै उपकुलपतिसहितका पदाधिकारी नियुक्ति गर्नु हित हुनेछ। अन्यथा राजनीतिले गाँजेको त्रि.वि.मा पुरानै पद्धतिबाट पदाधिकारी नियुक्ति गरे फेरि यहाँ राजनीति बोलवाला हुनेछ।

त्रि.वि.लाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न सबै सरोकारवाला एकजुट हुनुपर्ने अवस्था आएको छ।

प्रतिक्रिया दिनुहोस्