सेमिफाइनल समीकरण पूरा



काठमाडौं ।

एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० को सेमिफाइनल समीकरण पूरा भएको छ। प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा उमित शाक्यले छविलाल पाइजा पुनलाई ११–७, ११–५, ११–५ ले हराएर पुरुष एकलको सेमिफाइनलमा स्थान बनाएसंगै पुरुष एकलको सेमिफाइनल समीकरण पूरा भएको हो।

एक दिनअघि नेपालका शीर्ष वरीयताप्राप्त खेलाडी अरहन्तकेशर सिंह, अमिर ब्लोन र दीपक थापाले पनि अन्तिम चारमा स्थान बनाइसक्नुभएको थियो। सेमिफाइनलमा उमितले अरहन्त र अमिरले दीपकसँग खेल्नुहुनेछ।

त्यसैगरी, महिला एकलमा गत एसियाडमा खेल्ने दुई खेलाडी विपना ब्लोन र स्वस्थानी श्रेष्ठसँगै धकमाया पाइजा पुन विजयी हुनुभयो । विपनाले साक्षी कुँवरलाई ११–३, ११–३, ११–७, स्वस्थानीले अस्मिता नगरकोटीलाई ११–५, ११–८ र ११–८ तथा धकमायाले युनी ताम्राकारलाई ११–७, ११–४ र ११–३ ले पराजित गर्नुभयो।

ब्वाइज यु१९ मा विकास तुम्सिङ मगरले हेलिस घिसिङलाई ११–१, ११–२, ११–४, रोहन परियारले सञ्जय श्रेष्ठलाई ११–६, ११–३, ११–६ र राकेश परियारले किशोर श्रेष्ठलाई पाँच सेटमा ८–११, ११–३, ११–१, ५–११ र ११–४ ले निराश बनाउनुभयो।

गल्र्स यु–१९ मा रचना प्रजाले दोहारो जित हात पार्नुभयो। रचनाले युनीलाई ११–५, ११–६ र आग्या सुनुवारलाई ७–११, १२–१० र ११–६ ले पराजित गर्नुभयो। अन्य खेलमा साक्षीले मिलियाना कुँवरलाई ११–१, ११–० र अर्पणा प्रजाले नियुक्ति श्रेष्ठलाई ११–५, ११–१ ले हराउनुभयो।

नेपाल स्क्वास र्‍याकेट संघ स्थापना ३५ वर्ष पुगेको अवसरमा एनएसआरए एनिभरसरी कप स्क्वास भएको हो। एक्स स्टेपको प्रायोजन रहेको यो प्रतियोगिता मङ्सिर २९ गतेसम्म चल्नेछ । प्रतियोगितामा पुरुष ओपन, महिला ओपन, ब्वाइज यु–१९, गल्र्स यु–१९, मास्टर्स ५० प्लस र प्लेट गरी ६ विधामा खेल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्