पर्यटक लोभ्याउन नाचघरमा माटोको गीत



काठमाडौं ।

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले विदेशी पर्यटकलाई लक्षित गर्दै साप्ताहिक सांस्कृतिक कार्यक्रम माटोको गीत आयोजना गर्ने भएको छ।

देशभरका लोक–संस्कृतिकर्मी एवं कलाकारलाई चलायमान बनाउन तथा लोक–संस्कृतिलाई पुँजी निर्माणतर्फ अग्रसर गराउने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रमबारे बुधबार संस्थानमा आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले लोक–संस्कृति र रैथाने खानालाई उत्पादन र रोजगारीस“ग जोड्न आवश्यक रहेको चर्चा गर्दै त्यसका लागि यो कार्यक्रम महत्वपूर्ण हुने बताए।

संस्थानका महाप्रबन्धक अशोककुमार राईले सरकारी र निजी क्षेत्रको सहकार्य र समन्वयमा हुने कार्यक्रमका प्रस्तुति मनोरञ्जनभन्दा बढी प्राज्ञिक, खोजमूलक र यथार्थपरक हुने तथा नेपालको मौलिक एवं रैथाने संस्कृति, सभ्यता, रहनसहन तथा जीवनशैली झल्कने प्रस्तुति समावेश गरिने जानकारी गराए।

महाप्रबन्धक राईले विभिन्न जातजाति, समुदाय एवं भेगमा प्रचलित प्रस्तुतिजन्य लोककलालाई प्रामाणिक, आधिकारिक र प्रभावकारी बनाउन सम्बन्धित विषय विज्ञको परामर्श, मूल्यांकन तथा सुझाव लिन प्रस्तुति छनोट तथा परामर्श समिति गठन गरिएको र कार्यक्रममा समावेश गरिने सबै प्रस्तुतिलाई दस्तावेजीकरण गर्दै भविष्यमा भव्य डिजिटल लाइब्रेरी तयार गर्ने योजनासमेत रहेको बताए।

उनका अनुसार केही महिना साप्ताहिक रूपमा आयोजना हुने यो कार्यक्रमलाई नेपाली परिकारका साथ रात्रिभोजसहित दैनिकरूपमा प्रस्तुत गर्ने लक्ष्यका साथ तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्