निषेधको राजनीति नगरियोस्



काठमाडौं ।

नेकपा एमालेले मध्यपहाडी राजमार्ग अन्तर्गतको यात्रालाई निरन्तरता दिइरहेको बेला पहिचानवादी भनिएकाहरुले गर्न लागेको अवरोधले मुलुकलाई द्वन्द्वमा लैजाने हो कि भन्ने आशंका जन्माएको छ।

झुलाघाटबाट शुरु भएको यात्रा मंगलबार बिहानसम्म विनारोकटोक ओखलढुंगाबाट भोजपुर लाग्ने भएपछि पहिचानवादीका नाममा हुन लागेको अराजक गतिविधिले मुलुकमा फेरि अर्को अस्थिरता जन्मने हो कि भन्ने आशंका पैदा भएको छ।

गणतन्त्रमा आफ्नो कुरा राख्ने स्वतन्त्रता सबैलाई भए पनि कुनै व्यक्ति वा पार्टी विषेश निषेधको राजनीति गर्न खोज्नुले लोकतन्त्रलाई उपहास गर्न खोजेको हो कि भन्ने आशंकासमेत पैदा हुने भएकाले त्यस्ता गतिविधि कुनै पनि निकायबाट हुनु दुःखद पक्ष हो।

जो कसैले पनि आफूलाई मन नपरेका कुरा स्पष्टरुपमा जनतासमक्ष राख्ने र जनताले पनि कुनै पक्षधरलाई मन नपरेमा जनमतबाटै ठेगान लगाउन सक्नुपर्दछ । तर मुलुक गम्भीर अवस्थातर्फ मोडिरहेको बेला पहिचानका नाममा मु्लुकलाई द्वन्द्वमा लैजाने र विदेशी शक्तिलाई नेपाल प्रवेश गर्ने वातावरण कसैले बन्न दिनुहुँदैन।

आज अफ्रिकाका अधिकांश मुलुक यस्तै–यस्तै कारणले द्वन्द्वको चपेटामा परेर त्यहाँका जनताले आज नारकीय जीवन बिताउनुपरेको छ। उर्वर भूमि भएर पनि अफ्रिकाका नागरिक आफ्नो देश छोडेर शरणार्थी जीवन बिताउन बाध्य भएका छन् भने भोकमरीका कारण लाखौँ अफ्रिकन जनताले अनाहकमा ज्यान गुमाउनुपरिरहेको छ।

त्यसैले आज आफ्नो पहिचान खोज्ने नाममा विदेशी शक्तिले मुलुकको अस्मितामाथि धावा बोल्ने अवस्थाको सिर्जना कोही कसैले गर्नुहुँदैन। आफ्नो राजनीति अभीष्ट पूरा गर्न कसैले पनि कसैमाथि धावा बोल्नुहुँदैन ।

लोकतन्त्रमा आफ्नो मत जाहेर गर्न पाइन्छ तर निषेधको राजनीति गर्न खोज्नुले त्यसले अराजकता मात्र होइन हिंसासमेत निम्त्याउने निश्चित छ। राजनीति गर्नेहरुले मुलुकको स्वाभिमानलाई पनि ख्याल गर्नुपर्ने हुन्छ।

त्यसैले पहिचानवादीले एमाले नेता तथा कार्यकर्तामाथि आक्रमण गर्ने र एमालेका नेता तथा कार्यकर्ताहरुले पनि आत्मरक्षाका लागि भन्दै पहिचानवादी भनिएकामाथि कुनै प्रकारको हिंसात्मक गतिविधि गर्नु उचित होइन । सबै पक्षले संयमता अपनाउन जरुरी छ। हिंसा जुन पक्षबाट भए पनि त्यो अतिवाद नै हो। अतिवादलाई कोही कसैले मलजल गर्नुहुँदैन।

विभिन्न नाममा दलीय व्यवस्थामाथि नै धावा बोल्ने समूह सक्रिय हुन थालेको अहिलेको अवस्थाले मुलुकलाई संकटतर्फ लैजाने निश्चितजस्तै देखिन्छ। गणतन्त्रलाई धरापमा पार्ने र आफ्नो स्वार्थ पूरा गर्ने देशी–विदेशी शक्ति अहिले सक्रिय रुपमा लागेकाले त्यस्ता गतिविधिलाई निस्तेज पार्न एक भएर लाग्नुको विकल्प देखिँदैन।

अहिले मुलुकको अवस्था नाजुक बन्दै गएकाले त्यसलाई मध्यनजर गर्दै अघि बढ्नुको विकल्प छैन। त्यसैले यो, ऊ नभनीकन सबै एक भएर अघि बढ्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्