एनिमलको दृश्यबाट बबी विवादमा



काठमाडौं ।

रिलिजदेखि नै एक साथ चर्चा र विवाद दुवै खेप्दै आएको बलिउड फिल्म एनिमलमा समावेश एक दृश्यलाई लिएर अभिनेता बबी देवल विवादमा तानिएका छन्।

सन्दीप रेड्डी भांगष निर्देशित फिल्ममा बबी देवल र उनकी पत्नीको भूमिकामा देखिएकी अभिनेत्री मानसी तक्षकबीचको वैवाहिक बलात्कारको दृश्यले अहिले विवादको घेरामा परेको छ।

यो दृश्य विवादमा आएपछि बबीले सो दृश्य आफ्नो श्रीमतीका साथ र्दुव्यवहार गर्ने निर्दयी पुरुषको भएको र आफूले त्यो पात्रलाई सहि ढंगले निर्वाह गरेको भारतीय सञ्चार माध्यमलाई बताएका छन्। अभिनेत्री मानसी आफूभन्दा २९ वर्ष कान्छी भए पनि यस्तो खालको दृश्य गर्नमा आफूलाई कुनै पनि डर नलागेको समेत उनले बताएका छन्।

यसअघि, अभिनेता रणवीर कपुरलाई लिएर विवाद हुँदै आएको थियो। यस फिल्ममा काम गरेपछि अभिनेत्री मानसी तक्षक भने चर्चामा आएकी छन्। फिल्ममा खेलेको सानो दृश्यपछि नै उनको चर्चा चुलिएको छ भने सामाजिक सञ्जालमा पनि उनलाई पछ्याउनेको संख्या बढेको छ।

विषाक्त पुरुषत्वको स्तुति गाएको भन्दै आलोचित एनिमलमा चित्रण गरिएको हिंसात्मक दृश्यका विषयमा गत हप्ता भारतको संसदमा पनि सवाल उठेको थियो।

राज्यसभा बैठकमा कांग्रेस सांसद रञ्जित रञ्जनले एनिमलमा देखाइएको हिंसात्मक विषयमाथि आपत्ति जनाएकी थिइन्। उनले आफ्नी छोरी साथीहरूका साथ फिल्म हेर्न गए पनि फिल्म हेर्न नसकेर आधा समयमै छोडेर घर फर्किएको प्रसंग जोड्दै यस प्रकारको हिंसात्मक फिल्मले युवा वर्गमा नकारात्मक असर पार्ने बताएकी थिइन्।

एनिमलले भारतमा सलमान खानको टाइगर जिन्दा हेको लाइफटाइम कलेक्सनलाई उछिनेको छ भने नेपालसहित विश्वभर नै अत्याधिक कमाइ गरेर सर्वकालीन धेरै कमाउने फिल्मको लिस्टमा आफ्नो स्थान सुरक्षित गरेको छ।

प्रतिक्रिया दिनुहोस्