उपकुलपति सर्च कमिटीको अवरुद्ध बैठक छिट्टै



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति सर्च कमिटीको बैठक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई मन्त्रालयमा हाजिर भएपछि मात्र बस्ने भएको छ।

मंसिर ४ गते त्रिवि शिक्षण अस्पतालमा कानको जटिल शल्यक्रिया गरेर मन्त्री निवासमा आराम गरिरहनुभएका मन्त्री राई पुसको पहिलो साता मन्त्रालयमा हाजिर हुनुहुने भएको छ । सम्भवतः पुस ३ गतेबाट मन्त्रालयमा हजिर गर्ने तयारी छ।

प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले कातिक १९ गते सर्च कमिटी गठन भएको थियो। समिति गठनलगत्तै विदेशयात्रामा रहनुभएका त्रिविका सहकुलपति एवं शिक्षामन्त्री राई विदेशबाट आएलगत्तै अस्पताल भर्ना हुनुभएको थियो।

कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा शिक्षासचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा. चन्द्रकला सदस्य रहेको सर्च कमिटी गठन भएको थियो।

सर्च कमिटीका सदस्य एवं शिक्षा सचिव सुरेश अधिकारीले मन्त्री मन्त्रालयमा हाजिर हुनासाथ बैठक बस्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘मन्त्रीज्यू मन्त्रालयमा आउनासाथ बैठक बसेर एक महिनाभित्र उपकुलपतिको नाम सिफारिस गर्नेछौं। भागबण्डामा रुमल्लिएकोे त्रिविमा सर्च कमिटीले एक महिनाभित्र उपकुलपतिको नामा टुंगो लगाउने सम्भावना न्यून देखिएको छ।’

सरकारआबद्ध दलबीच सहमति नभएसम्म उपकुलपति छनोट गर्न सक्ने सम्भावना छैन–एक उच्च अधिकारीले नेपाल समाचारपत्रसँग भने।

स्रोतका अनुसार रजिस्ट्रार प्रा. पेशल दाहालको पदावधि सकिएपछि मात्र उपकुलपति छनौट प्रक्रिया अघि बढ्ने सम्भावना छ। रजिस्टारको पदावधि पुस ९ गते सकिँदैन।

रजिस्टारको पदावधि सकिएपछि त्रिविमा उपकुलपति, रेक्टर, रजिस्टार र त्रिवि सेवा आयोगको एकजना सदस्यको खाली हुन्छ, त्यसपछि राजनीति भागबण्डामा पदाधिकारी र आयोग सदस्यको नियुक्ति हु्नेछ।

तीनजना पदाधिकारीको भागबण्डा टुंगिएपछि मात्र कुलपति छनौट समितिको बैठक बस्ने तयारी भएको छ । त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको कार्यकाल कात्तिक १८ गते सकिएको थियोे । कात्तिक १९ गते कुलपतिले त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष प्राडा शिवलाल भुषाललाई तीन महिने उपकुलपतिको जिम्मेवारी दिनुभएको थियो ।

त्रिवि ऐनअनुसार बढीमा तीन महिनाका लागि उपकुलपति नियुक्ति गर्ने सकिने प्रावधानअनुसार प्राडा भुषाललाई जिम्मेवारी दिएको हो। भुषालले कार्यभार सम्हाल्नुभएको एक महिना पुगिसकेको छ, उपकुलपति कहिले नियुक्ति हुन्छ भन्ने विषयमा कसैलाई जानकारी छैन।

त्रिवि प्राध्यापक संघ र संगठनले कुलपतिले हाल कुलपति रहनुभएका प्राडा भुषालको शिक्षाध्यक्ष नियुक्ति भएको मितिपछि मात्रै उपकुलपति नियुक्ति गर्नसक्ने आशंका गरेका छन्।

३ महिने उपकुलपति भुषालको कार्यकाल चैत ५ गते सकिँदैन । तीन महिने उपकुलपति भएका प्राडा भुषालको कार्यकाल फेरि ३ महिना थप्ने र त्यसपछि उपकुलपति छनौट प्रक्रिया अघि बढाउने सम्भावना रहेको उच्च अधिकारीले जानकारी दिनुभयो।

उपकुलपति बन्ने होडमा रहेका आकांक्षीहरू शक्तिकेन्द्र धाउन थालेका छन् । स्रोतका अनुसार त्रिविका प्राध्यापक संघ र संगठनमार्फत् आकांक्षीहरू उपकुलपतिको दौडमा छन् । तर, कुलपति एवं प्राधनमन्त्री दाहालले राजनीतिक सहमतिमा मात्र उपकुलपति र रजिस्टार र शिक्षाध्यक्ष नियुक्ति गर्ने तयारीमा रहनुभएको छ ।

त्यसको लागि राजनीतिक दलसँग छलफल थाल्नुभएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रबीच कस्लाई उपकुलपति बनाउने भन्ने विषयमा विमर्श भइरहेको छ।

स्रोतका अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले तीन पदाधिाकारीको भागबण्डा गर्ने भएका छन्। त्रिविका सहकुलपति जसपाको भागमा परेका कारण एकजना पदाधिकारी जसपाको हुने सम्भावाना रहेको स्रोतको भनाइ छ। नेपाली कांग्रेस र माओवादी केन्द्रले सम्भावित सूची तयार पारे पनि जसपाले नाम खोज्न सकेको छैन।

माओवादी निकट त्रिविका पूर्व राजिस्टार एवं राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष प्राडा चन्द्रमणि पौडेल र नेपाल खुला विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा लेखनाथ शर्मा, नेपाली कांग्रेस निकट त्रिविका पूर्वउपकुलपति प्राडा तीर्थराज खनियाँ, र त्रिविका पूर्व शिक्षाध्यक्ष गुणनीधि न्यौपाने रहनुभएको छ स्रोतका अनुसार भागबण्डामा उपकुलपति, रेक्टर र रजिस्टारको विषयमा सत्तारुढ दलबीच सहमति भएपछि उपकुलपति छनौट गर्ने तयारी भएको छ ।

दीक्षान्तमा मन्त्री राई सहभागी नहुने

त्रिभुवन विश्वविद्यालयको ४९ आंै दीक्षान्त समारोहमा सहकुलपति एवं शिक्षामन्त्री अशोककुमार राई उपस्थित हुन नसक्ने हुनुभएको छ। स्वास्थ्य समस्याको कारण देखाउँदै उहाँ दीक्षान्त समारोहमा उपस्थित हुन नसक्नुहुने भएको हो।

त्रिविको दीक्षान्त समारोह यही पुस २ गते दशरथ रङ्गशालामा हुनेछ। दीक्षान्त समारोहमा करिब ७५ हजार दीक्षित हुने भएका छन्।

कानको जटिल शल्यक्रिया गरी चिकित्सकको सल्लाहअनुसार आराम गरिरहनुभएका मन्त्री राई करिब ३ सातायता मन्त्रालय आउन सक्नुभएको छैन । उहाँले अत्यावश्यक बाहेकका सबै काम मन्त्री निवासबाट गर्ने गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्