राज एकातिर नीति अर्कैतिर



काठमाडौं ।

सर्पले हिलो निलेझैँ दलहरुले देशलाई सलक्कै निल्न लागेका छन्। संघीयता, गणतन्त्र, धर्म निरपेक्षताका विषयमा सडक प्रदर्शन भइरहेको छ, साँच्चै यी विषयमा जनमतसंग्रह गरिएको छैन।

संविधान बनाउने नेतृत्व लिएको दलले अहिले एउटा कार्ड फालेको छ, विचार गर्न सकिन्छ भनेर, कुन्नि केको न्यानो, जनता अलमल्याउने गरी । ३ करोड जनतामा आधाआधी बाहिर छन्, यति ठूलो र खर्चिलो शासन प्रणाली आवश्यक हो कि होइन, बहस नै भएन।

देशमा राज एकातिर छ, नीति अर्कैतिर छ। त्यसैले धेरैका मुखबाट सुनिन्छ– देशमा राजनीति होइन, लाजनीति चलेको छ। राजनीतिले त सेवा गर्नुपर्ने हो तर यहाँ गरिबको रगत–पसिनाबाट मेवा पाएका छन्, आफूलाई नेता भन्नेहरुले। राजनेता कस्ता हुने विषयमा यहाँ बहस नै हुन्न, लुकी–लुकी खानेहरुलाई नेता भन्न बाध्य छन् नेपालीहरु।

नेता पनि कति हो कति, गन्दै जाँदा सिट पाउने नै ४० हजार बढी अरु त टोलटोलमै अनगिन्ती। देशमा देशभक्ति होइन, दलभक्ति भएको छ।

देशमा बोलिन्छ एउटा, गरिन्छ अर्कै। सिट पाउनेहरुले देशको अर्थ प्रणाली ठीक ढंगले चलेको छ भन्छन्, पङ्क्ति तयार गर्दा आईएमएफको भनाइ आएको छ, यहाँको मौद्रिक नीतिले कामै गर्न सकेको छैन र वित्तीय क्षेत्रको सुधार हुन सकेको छैन।

साँच्चै अर्थ प्रणालीको सुधारबारे त यहाँ बहस नै हुन्न, भइहाले पनि बजेट बनाउने र मिलिजुली बाँड्ने मात्र, सांसद विकास कोष अर्को नामबाट ब्युँताउने प्रयास भयो र अदालतले रोक्दा संसद्को अधिकार हस्तक्षेप भयो भन्न भ्याएको अवस्था छ।

रात बितेपछि बिस्कुन सुकाउने हाम्रो चलन छ, अर्थ प्रणाली निकृष्ट भएको आज होइन कैयन वर्ष भइसकेको छ । देशमा अभिभावक छ भनिन्छ, जाजरकोटको भूकम्पपछिको चिसोले २ दर्जनलाई निलिसकेको छ।

राष्ट्रिय सभाका अध्यक्षलगायत देशैभरिका प्रदेश सभामुख, उपसभामुख अस्ट्रेलिया कुदेका छन् र समकक्षी भन्न भ्याएका छन्, हिजो जन्मेको त्यो देशले गरेको प्रगतिबारे अनभिज्ञ छन्।

वर्षौं व्यतीत हुँदा यहाँ पदमा बसेर के काम गरेको, स्पष्ट छैन। प्रधानमन्त्रीको दौडाहा छ देशबाहिर, नेपालको हवाईजहाजले कालो सूची पन्छाउन सकेको छैन । देश सुखी र समृद्ध भन्ने सपना र नारा देखाए दलहरुले, झन्–झन् गरिब हुँदै छ देश । सुशासन र भ्रष्टाचारमुक्त प्रशासन भनियो तर सयौँ काण्डहरु छचल्किएका छन् ।

अन्यत्र तेलको भाउ घट्छ, यहाँ बढ्छ । देश ऋणमुक्त छैन, वर्षौं उपभोक्ताको घाँटी निमोठेर आयल निगम ऋणमुक्त भएको भन्छ, अब उसलाई आईपीओ जारी गर्न बाटो खुल्ने भएछ । देश प्रदूषणमुक्त हुने कल्पनाको संविधान लेखिन्छ तर मौलिक हककै प्रत्याभूति हुँदैन र प्रदूषण करको खर्च नै भएको छैन। पानी वितरण गरिने भनिन्छ मेलम्ची नै उठ्दैन, उठ्नासाथ आकाशमा बादल गर्जन्छ तुरुन्तै मेलम्ची सुतिहाल्छ।

भएका विमानस्थलको काम आएको छैन, अर्को विमानस्थलको हतारो हुन्छ । रोजगारी यहीँ दिइने भनिन्छ तर चुनाव आए पनि, दशैँ आए पनि वा तिहार आउँदा पनि युवाहरु विदेश जानेको लर्को घट्दैन, बढिरहन्छ । नेताहरु खानपिनको काममा एकजुट हुन्छन् बाँकी समय हिलो छ्याप्छन्, कहिल्यै मेल हुन्न ।

संसद् १० महिनासम्म चल्दा कुनै महत्वपूर्ण विधेयक नै आएन, रसिला र मीठा भाषणले कसैको पेट भरिएन । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखान चरितार्थ भएको छ देशमा, कहिल्यै गरिबी र बेरोजगारीको पीडा उजागर हुने गरी कसैले बहस गर्दैन ।

युवाजति खाडीतिर संघचाहिँ यतै छ, संगठन यतै छ, रासायनिक मलको हल्ला असारतिर गरिन्छ, चिनीको हल्ला दशैँ–तिहारतिर। दशैँमा ल्याएका च्याङ्ग्रा अहिलेसम्म जिउँदै छन्, ठस्ठसी गनाइरहेका छन्, भाउ कम गरेको भए उहिल्यै बिक्री भइसक्थ्यो।

देशमा ओमकार परिवारका ९४ प्रतिशत जनता भन्दै जनगणनाको तथ्यांक आउँछ, देश धर्मनिरपेक्षबाट एक इन्च तल–माथि हुन्न भनिन्छ। विदेशीहरुको जुठो चल्छ यहाँ, विप्रेषण पनि चल्छ, विदेश गएकाको भोट चल्दैन, नोट मात्रै चल्छ। कमिसन नखुवाए कुनै काम बन्दैन।

ठेक्कापट्टामै चलेको छ, देश र दल । दलीय चरित्र पनि व्यवहारमा त छैन, तीन टाउका मिलेपछि सबै काम सम्पन्न हुन्छ, संघीयता र गणतन्त्र पनि श्री ३ हरुमै सीमित छ।

संविधानको जग १२ बुँदे सम्झौता हो र यो सम्झौता स्वदेशमा नगरी विदेशमा भएको हो। सडकमा विरोध आउँदा हामी फेरि रैती बन्न मिल्दैन भन्छन् श्रीहरु तर कोबाट रैती भएका हुन, भन्दैनन् । तिनै पहिले दाम राखी ढोग्न गएका थिए श्रीहरुसँग।

आफूले गरेको सबै ठीक अरुले गरेको सबै बेठीक भन्ने अहं छ, नेतृत्वमा। देशमा पछिल्ला घटनाहरुले दलको गतिविधिहरुमा कोही अनभिज्ञ छैन । राष्ट्रपतिले आममाफीका लागि के गरे र अदालतले के आदेश दियो यसप्रति पनि ध्यान छैन कसैको ।

४६ सालसम्म देशमा ६० प्रतिशत पूँजीगत अर्च हुन्थ्यो अहिले चालू खर्च नै ८३ प्रतिशत छ, गएको ३ महिना ६ प्रतिशत विकास खर्च भएको देखिन्छ, त्यो पनि डोजरे विकास, माटो छोप्ने विकास । शिक्षामा व्यापार छ, स्वास्थ्यमा व्यापार छ, निमुखाहरुले औषधि उपचार गर्न सकेका छैनन् ।

करको मारले जनता किचिएका छन्, घरजग्गा किन्दाको मोल नै करको रुपमा बुझाउनुपर्ने भएको छ। पालिकाहरुका भवन आलिसान छन्, आम जनता घरबारविहीन छन्, गाउँमा लास बोक्ने मान्छे छैन, शहरमा जन्ती जाने पनि। चाडबाडमा नेताहरुले शुभकामना दिए तर शुभकामनाका शब्दहरुले मलहमपट्टी लाग्न सकेन।

देशमा लैंगिक हिंसा हुनुहुन्न भन्ने नारा छ तर एक वर्षमा २० हजार बढी घटना प्रहरीले सार्वजनिक गर्छ । घरेलु हिंसा नै ८० प्रतिशत भनेको अवस्था छ। सामाजिक सद्व्यवहारका लागि धर्म, नैतिकता हुनुपर्ने तर देशैभरि धर्म हराइसकेको छ, शपथ लिँदा अरुले बाइबल, कुरान छोए, यहाँ केही पनि छोइएन।

समाजमा जबरजस्ती करणीका घटना बढेका छन्, कर्तव्य ज्यान मुद्दा त्यस्तै छ, अपहरण केस पनि । सरकारी पदाधिकारी त्यो पनि गृह प्रशासन नै नक्कली भुटानी शरणार्थी केसमा मुद्दा खेप्दै छन् ।

सत्ताको आडले सबैथरीको भ्रष्टाचार हुने गरेको छ, सुशासनलाई धज्जी उडाइएको छ । एकै वर्षमा मानव बेचबिखन १२४ घटना छन्, बुद्धभूमि लुम्बिनीमै सबैभन्दा धेरै छ, ५२ प्रतिशत त महिला नै छन्, बालबालिका ३७ प्रतिशत छ । यौनजन्य हिंसामा कोशी प्रदेशले नेतृत्व गर्छ भने जिल्लागतमा मोरङ र काठमाडौँले ।

घरेलु हिंसामा त मधेश प्रदेश अब्बल देखिन्छ, भनौँ लैंगिक हिंसाविरुद्धको १५ दिने अभियान छ देशमा, अन्तर्राष्ट्रिय परिवेशमा पनि, तर तथ्यांक बाहिर आउँदा मुख लुकाउनुपर्ने अवस्था छ सबैतिर, कसले जिम्मा लिने यो ? नेतृत्वको काम के हो ? गठबन्धन गर्दै आफ्ना मान्छेलाई शक्ति दिलाउने मात्र ?

समाज दिनपरदिन पछाडितिर धकेलिँदै छ, राष्ट्रिय जनावरलाई संविधानले के भनेको छ र बाहिर कस्तो उद्दण्ड मच्चिएको छ ? कानुनको गलत व्याख्या पहिले कसले गरेको। हालका सत्तासीनहरुको विगत के छ, कस्तो पृष्ठभूमिबाट सत्ता प्राप्त भएको हो र अतीतलाई बिर्सने हो भने पनि विगत एक दशकमा भएका घटनाहरुमा को दोषी छ त ? आजको धराशायी अर्थतन्त्र निर्माणमा को जिम्मेवार छ ?

किन युवा देशभित्र टिक्नै सक्दैनन्, गाउँमा किलो–दाम्लो किन रोइरहेको छ, उत्पादन खोइ त, व्यापारमात्रै गरेर भन्सार आयबाट मस्ती गर्ने हो र ? विदेशमा गएर लगानी गर यहाँ भनेकै भरमा यहाँ लगानी हुन्छ र ? लाभांश भन्दै लगानीको आधा बढी किन र कसरी बाहिर गयो त ? हाम्रो प्रक्रिया कति झन्झटिलो छ, थाहा छ र ? कता गयो एकल विन्दु सेवा केन्द्र, कता गयो औद्योगिक क्षेत्र, कता गए औद्योगिक ग्रामहरु ? कि उद्घाटनमै सीमित भए अर्बौंअर्ब लगानीको मेलम्चीझैँ, पूर्वाधार आयोजना र राष्ट्रिय गौरवका आयोजनाहरुमा किन म्याद मात्रै थपिन्छ ? किन लागत मात्रै बढिरहन्छ र किन दलका मान्छेले मात्रै काम पाउँछन् त्यहाँ ?

भ्यूटावरले गरिबीको चित्र कति कोरेको छ त, टावरभन्दा अग्ला डाँडाकाँडा भएको देशमा भ्यूटावर आवश्यक थियो र ? किन चढाइयो पशुपतिमा सुन र मान्छे किन त्यहीँका अख्तिायारमा परे त ?

विवेकमा जालो लाग्योे कि आँखामा कालो चश्मा ? कहाँ छ नेपाल र नेपालीको स्तर ? सिमानामा के भएको छ, इजरायलको लास किन अरुले ल्याइदिए ? किन हरेक दिनको समाचारमा ऋणको सम्झौता मात्रै, कसले तिर्ने हो देशको ऋण, के यति धेरै ऋण लिएर खर्चिलो गणतन्त्र पाल्नुपर्ने हो ?

अहिलेको संघीयता के कसरी आवश्यक हो, के वैज्ञानिक अध्ययन छ यसमा ? सालासाली, साडुहरुलाई नै पद बाँड्नैका लागि होइन र ? देशमा परिवर्तन के भयो, चप्पल लाउन नसक्नेहरुले पजेरो पाए होलान्, गरिबले के पायो ? भूकम्पपीडितमा आफैँले मलहम लाउन किन नसकेको, सधैँ भिक्षा किन मागिने, आधा पेट खाएर भए पनि भिक्षा नमागी बस्दा के हुन्छ नि ?

सुट र टाई हाम्रो पहिचान हो त, सरकारी औपचारिक कार्यक्रममा पनि स्वयं नेतृत्वले यस्तो पोशाकमा देखिनु राम्रो हो र ? हरेक देशको मौलिक संस्कृित, संस्कार, धर्म, सभ्यता हुन्छ र त्यो नै देशको राष्ट्रियता हो भन्ने किन नबुझेको त ?

१७ करोड वर्षअघिदेखिको देशको नाम कोही कसैबाट नियन्त्रित नभएको स्वाधीन मुलुक कसरी अरुको निगाहामा बाँच्नुपर्ने भयो त । स्वदेशका उद्योग कलकारना खोइ त, एयरपोर्टको लाइन हेरेर मात्रै बस्ने ? यहाँ रोजगारी सिर्जना किन भएन, पानीको धनी देश यहीँ भुटानभन्दा महँगो बिजुली किन त ? स्वदेशी बनौँ भन्ने नारा कता गयो होला, मेड इन नेपाल खोइ त ?

मकै, भटमास, दही, चिउरा, रोटी भन्ने कि पिजा बर्गर ? राज एकातिर नीति अर्कैतिर भएर नै मुलुकको अवस्था यस्तो भएको भन्न गाह्रो छैन।

प्रतिक्रिया दिनुहोस्