प्रकाश दाहालको स्मृतिमा राष्ट्रिय ब्याडमिन्टन हुने



काठमाडौं ।

नेकपा माओवादीका नेता स्व. प्रकाश दाहालको स्मृतिमा प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।
बौद्ध लाखेपोखरीस्थित स्पोर्टस् हबनेपाल प्रालिको आयोजनामा पौष २५ गतेदेखि हुने ब्याडमिन्टन संघको मान्यता प्राप्त वरीयता सहितको राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (ब्याडमिन्टन संघको उच्च २० वरीयताबाहेक), स्थानीय स्तर, मास्टर्स युगल ३५ वर्ष माथि र ४५ वर्षमाथि गरी ६ विधामा प्रतिस्पर्धा हुने आयोजक समितिका प्रतियोगिता निर्देशक एवं संयोजक आङ्ग कुसाङ्ग शेर्पाले जानकारी गराए।

करिब २५ लाखको लागत रहेको प्रतियोगितामा विजेता, उपविजेता एवं तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरूले नगद ४५ हजार, २५ हजार र १० हजारसहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका आर्थिक संयोजक एवं स्पोर्टस् हवका सञ्चालक अश्मेल (अखिल) शाहीले जानकारी गराए।

राजनैतिक नेताका साथै खेलकुदलाई अति नै माया गर्ने व्यक्तित्व प्रकाश दाहाल आफ्नो अत्यन्तै निकट रहेकाले उनकै नाममा प्रतियोगिता आयोजना गर्न लागिएको सञ्चालक अखिल शाहीले बताए।

आयोजकको आफ्नै कोर्टा हुने प्रतियोगितालाई भव्यरूपमा सम्पन्न गर्न हवका सञ्चालकहरू लाक्पा शेर्पा, सनबहादुर साम्बासमेत रहेको प्रतियोगिता समिति गठन गरिएको आयोजकले जनाएका छन्।

वरीयता सहितको राष्ट्रिय प्रतियोगिता रहेकाले विगतमा जस्तै करिब ४ सयको हाराहारीमा खेलाडीहरूको उपस्थिति रहने आयोजकले जनाएका छन्। हामीले विगतमा पनि प्रतियोगिताहरूआयोजना गर्दै आइरहेका थियौँ जसमा खेलाडीहरूको अत्यन्तै चाप रहेको छ।

यसपटक नेपाल ब्याडमिन्टन संघको वरीयतासमेत हुने भएका कारण खेलाडीहरूको चाप अझै बढ्न सक्ने देखेका छौं प्रतियोगिता संयोजक शेर्पाले बताए ।

प्रतिक्रिया दिनुहोस्