महाजात्राबाट अभिनयमा फर्किए प्रकाश घिमिरे



काठमाडौं ।

घाँस काट्ने क्रममा भीरबाट खसेर घाइते भएका अभिनेता प्रकाश घिमिरे डेढ महिनापछि स्वास्थ्यलाभ गरी सुटिङमा जुटेका छन्।

अभिनेता घिमिरे फिल्म महाजात्राको आइतबार बूढानीलकण्ठमा भएको सुटिङबाट अभिनयमा फर्केका हुन्। उनी जात्रा शृङ्खलादेखि नै अभिनेत्री वर्षा राउतको पिताको भूमिकामा छन्।

‘केही समयको विश्रामपछि काममा फर्किएको छु। चिकित्सकको सल्लाहअनुसार नै आराम र काम गरिरहेको छु’, अभिनेता घिमिरेले भने।

फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले अभिनेता घिमिरेलाई छायांकनस्थलमा देख्दा सबैको मुहारमा खुसी देखिएको बताए। उनले अभिनेता घिमिरेको सम्पूर्ण दृश्यको छायांकन सकेर पठाउने बताए।

अभिनेता घिमिरेस“गै अभिनेता हरिवंश आचार्यले पनि छायांकन गरिरहेका छन्। निर्देशक प्रदीप भट्टराईले आचार्य र घिमिरेको एकसाथ छायांकन गरिरहेका छन्।

जात्रा र जात्रै जात्राको व्यावसायिक र समीक्षात्मक सफलतापश्चात् षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खलास्वरूप महाजात्राको छायांकन काठमाडौंस“गै तराईका भूभागमा समेत गरिने निर्माण समूहले जानकारी गराएको छ।

लेखक तथा निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा निर्माणाधीन फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतले अभिनय गर्नेछन्। फिल्म आगामी चैत ९ गते नेपालस“गै विश्वभर एकैसाथ रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्