लोक दोहोरीमा लजाउँदै सुशील



काठमाडौं ।

गायक सुशील ज्ञवालीले लजाउँदै लजाउँदै बोलको आफ्नो नविनतम लोक दोहोरी गीत सार्वजनिक गरेका छन्। गायक ज्ञवालीले सुशील ज्ञवाली नामक आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको फरक प्याटनको लोक दोहोरी गीत ६ दिनमा करिब तीन लाखले हेरिसकेका छन्।

लोक दोहोरीमा गायक ज्ञवालीलाई गायनमा गायिका शान्तिश्री परियारले साथ दिएकी छन्। हरि गिरी विमर्शीको शब्द रचना र संगीत तथा एचबीएन किस्मतको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ रहेको गीतमाथि रमाइलो ढंगको भिडियो निर्माण गरिएको छ।

गम्भीर विष्ट र गीता ढुंगानाले अभिनय र नृत्य गरेको भिडियोको निर्देशन मौसम हिमाली र कोरियोग्राफी गम्भीर विष्टले गरेका छन् भने छायांकन निर्देशन अर्जुन तिवारी तथा सम्पादन र भीएफएक्स मनोज कार्कीको रहेको छ। भिडियोमा गायक ज्ञवाली प्रस्तुत भएका छन्।

एक दशकदेखि जापानमा रेष्टुराँ व्यवसायमा संलग्न रह“दै आएका ज्ञवालीले हालै नेपाल आएको मौका पारेर रेकर्ड गरेको गीत म्युजिक भिडियोसहित जापान पुगेर सार्वजनिक गरेका हुन्।

नवलपरासीको रजहरका सुशीललाई संगीतको रस यसरी बस्यो कि देश छोडेर विदेशमा बसे पनि झझल्को भने गीत–संगीतकै आउने गर्छ। गाउँमै ९/१० कक्षामा पढ्दादेखि नै स्कुलमा हुने कार्यक्रममा गीत गाउन अघि सर्ने उनी जापानमा हुने सांस्कृतिक कार्यक्रममा पनि गीत गाउन अघि सर्ने गर्छन्।

२०६४ सालमा पहिलोपटक लोकदोहोरी एल्बम रैछौ चिटिक्कै बजारमा ल्याएर आफूलाई गायकका रूपमा अघि सारेका सुशीलको पहिलो एल्बमकै शीर्ष गीत चलेपछि उनले गायन क्षेत्रलाई निरन्तरता दिइरहेका छन्।

पहिलो एल्बम र त्यसको गीत चलेपछि सुशीलले लगत्तै २०६५ सालमा दोस्रो एल्बम दाइको साली ल्याएका थिए। त्यसयता तिम्रै बोली सुनेर रोइला, बोलायो मायाले, आमाको बेदना, हाम्रो नवलपरासी, लास्टै मन परेर, चुरिया छ्याइँ छ्याइँ, तिम्रै माया लाग्छजस्ता लोक र लोक दोहोरी गीत बजारमा ल्याइसकेका छन्।

नवलपरासी जिल्ला कार्यसमिति क्षेत्र नम्बर १ को राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्षसमेत रहेका सुशीललाई लोक र लोक दोहोरी गीतसंगीत क्षेत्रको गरिमा कायम राख्न यो विधालाई सजिलो र सस्तो मान्न नहुने सुझाउँछन्।

प्रतिक्रिया दिनुहोस्