एनसेलको शेयर खरिदबिक्रीको अनुसन्धान गर्नुपर्छः सभामुख घिमिरे



काठमाडौं ।

सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यमय बनेको बताएका छन्। बिहीबार अनेरास्ववियुले एनसेलको विषयमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै घिमिरेले यो प्रकरणको अध्ययन अनुसन्धान गर्नैपर्ने रूपमा बाहिर आएको बताए।

‘एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यको र अध्ययन अनुसन्धान गर्नैपर्ने रुपमा बाहिर आइरहेको छ। जसरी अरुको चासो गइरहेको छ, संसदमा पनि त्यत्तिकै र अझ त्योभन्दा बढी जिम्मेवारीका साथ चासो लिएर अघि बढेको छ,’ घिमिरेले भने ।

संसदले एनसेल खरिदबिक्री प्रकरणलाई जिम्मेवारीका साथ चासो लिएर अघि बढाइरहेको घिमिरेको भनाइ छ। संसद बन्द रहेका बेलामा संसदीय समितिमार्फत यस विषयमा छलफल र बहस भइरहेको उनले बताए।

‘दुईवटा संसदीय समितिले यसलाई छलफलको विषय बनाएर तुरुन्तै बैठक गरेका छन्। सरकारसँग स्पष्टीकरणका लागि माग गर्ने लगायतका कामहरू संसदीय समितिबाट भइरहेका छन्,’ घिमिरेले भने, ‘सिमहरू नष्ट गर्ने भन्नेकुराहरू सुनियो, यस्तो गर्दा देशको सम्पत्ति पनि क्षति हुनपुग्छ। यी कुरामा विचार गरेर यसको छानबिन, निस्कर्षमा जानुपर्छ । भौतिक क्षति नहुने गरी कार्यक्रम अघि बढाउन जरुरी हुन्छ।’

शेयर खरिदबिक्रीमा अनियमितता भएको भन्दै गरिरहेको विरोधमा पनि भौतिक क्षति नगरी आन्दोलनका कार्यक्रम अघि बढाउनुपर्ने बताए। अनेरास्ववियुले एनसेल शेयर बिक्री प्रकरणको सत्य तथ्य छानबिन गर्न आग्रह गरेको छ।

खर्बौंको सम्पत्ति रहेको, नियमित रूपमा मुनाफा आर्जन गरिरहेको तथा नेपालकै बैंक तथा वित्तीय संस्थाहरूको अर्बौंकौ ऋण लगानी समेत भएको कम्पनीको ८० प्रतिशत शेयरलाई नेपाल दूरसञ्चार प्राधिकरणलाई पूर्वजानकारी नगराई बिक्री गर्नुले पुँजीगत लाभ करलगायत कर छली गर्ने उद्देश्य राखेको देखिएको अनेरास्ववियुको ठहर छ।

प्रतिक्रिया दिनुहोस्