राप्रपा राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने



काठमाडौं ।

राप्रपाले राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ। बुधबार र बिहीबार काठमाडौंमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी हुने निर्णय गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

उनका अनुसार राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने सम्बन्धमा अन्य दलसँग आवश्यक सहयोग जुटाउन, संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख तथा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको छ।

साथै बैठकले इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजङ्ग गुरुङलाई जिम्मेवारी दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। बैठकले राप्रपा नियमावली–२०८० लाई संशोधनसहित पारित गरेको छ।

दुई दिन बसेको बैठकमा राप्रपाले राजनीतिक, सामाजिक, आर्थिक रूपले देश सङ्कटपूर्ण अवस्थामा रहेको, देशको नेतृत्व र शासन व्यवस्था असफल भइसकेको र यथास्थितिमा देश अघि बढिरहन नसक्ने निष्कर्ष निकाल्दै आन्दोलनको अपरिहार्यतामा जोड दिएको छ।

राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना, सङ्घीयता खारेजीको पक्षमा एवं सुशासन र जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको र सो प्रस्तावलाई केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने अनुमति दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १, २ र ३ गते काठमाडौंमा बस्ने निर्णय गरेको बैठकले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय तहमा र सबै तहमा उत्सवको रूपमा मनाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्