यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय



काठमाडौं ।

सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविनका लागि उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गर्ने निर्णय गरेको छ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो।

समितिमा सरकारका सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आईसीएनका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य छन्।

त्यसैगरी आजको मन्त्रिपरिषद् बैठकले खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई तथा सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ।

यस्तै बैठकले विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’को लागि प्राप्त हुने सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय पनि गरेको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्