चितवनका भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी



नारायणगढ ।

चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको छ।

यहाँका भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका ती परिवारलाई पुर्जा वितरण गर्न लागिएको हो। राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाका अनुसार ती पालिका बसोबास गर्ने सुकुम्बासीलाई प्रमाणपत्र वितरणको तयारी अन्तिम चरणमा पुगेको हो।

उनले भने, “सरकारले कानुन संशोधनको तयारीमा रहेको जानकारी पाएका छौँ। संशोधन भए जिल्लाका अधिकांश भूमिहीनले जग्गाधनी प्रमाणपत्र प्राप्त गर्ने छन्।” कानुनीरुपमा समस्या देखिएकाबाहेक अन्य सबै ठाउँमा कामलाई तीव्र गतिमा अघि बढाइएको छ।

उनले भने, “अहिले हामीले पाँच सय परिवारलाई पुसको दोस्रो सातासम्ममा जग्गाधनी प्रमाणपत्र वितरण गर्ने गरी काम गरिरहेका छौँ।” अहिले पुर्जा बनाउने र सूचना प्रकाशनको काम भइरहेको उनले बताए। जग्गा नाप्ने र स्थलगत अनुगमन सकिएको छ।

यसअघि भरतपुर महानगरपालिका वडा नम्बर २, २९ र इच्छाकामनाका एक सय ५४ परिवारलाई प्रमाणपत्र वितरण गरिएको थियो। आयोगमा जिल्लाका १० हजार बढी सुकुम्बासीले आवेदन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्