आर्थिक मन्दीले पार्टी प्यालेस पनि मर्कामा



विश्वव्यापी कोरोना महामारीले थलिएको व्यापार–व्यवसाय हाल आर्थिक मन्दीको चपेटामा परेको छ । आर्थिक मन्दीका कारण हरेक व्यवसाय चौपट भइरहेको अवस्था छ । अहिले मंसिरको महिना छ । मंसिरमा सबैभन्दा धेरै विवाह हुन्छ । तर, पार्टी प्यालेस सञ्चालकहरुको अनुहारमा रौनक भने छैन । पार्टी प्यालेसमा भोज दिने क्रम स्वाट्टै घटेको उनीहरु बताउँछन् ।

विगतमा पार्टी प्यालेसमा भोज गर्नलाई एक महिनाअगावै बुकिङ गर्नुपथ्र्यो । अत्यधिक बुकिङका कारण पार्टी प्यालेसहरुलाई धपेडी हुने गरेको थियो । कतिपयलाई त नभ्याएर टार्नुपर्ने अवस्था थियो । तर, अहिले ठ्याक्कै त्यसको उल्टो भएको छ । मंसिर महिनामा समेत पार्टी प्यालेसहरु चकमन्न छन् । पार्टी प्यालेसको अवस्थाले नै देशको आर्थिक मन्दी छर्लंग पारेको छ ।

यसअघि विवाहका लागि बुबाआमाले जग्गा बेच्थे । शेयर र गाडी बेचेर छोराछोरीको विवाह गर्दथे । अहिले यी क्षेत्रमा पूरै मन्दी छाएको छ । घरजग्गा कारोबार ठप्पझैँ छ । यता, शेयर र गाडीको मूल्यमा पनि व्यापक गिरावट आएको छ । तैपनि यति बेला सस्तोमा बेच्छु भन्दा पनि खरिदकर्ता भेट्न मुस्किल छ । घरमा विवाह गर्नुपर्ने छोराछोरी छन् तर बुबाआमासँग पैसा नभएको अवस्था छ ।

यता, सहकारीहरुले पहिले–पहिले पार्टी प्यालेसमै साधारणसभा गर्थेंं । हजारौं सहकारीले साधारणसभा गर्दा पार्टी प्यालेसको राम्रो धन्दा चलेको थियो । यद्यपि, अहिले साधारणसभा गर्न सहकारी नै छैनन् । सहकारीहरु धमाधम भागिरहेका छन्, डुबिरहेका छन् । जसको मर्का पार्टी प्यालेसलाई पनि प¥यो । सहकारीबाट भइरहेको आम्दानी पार्टी प्यालेसहरुले गुमाउनुप¥यो ।

म्युजिक भिडियो सुटिङ गर्नेहरुको पनि लोकप्रिय स्थल थियो, पार्टी प्यालेस । पार्टी प्यालेसमा ठाउँ ठूलो हुने भएकाले त्यहीँ नाचगान गरेर सुटिङ गरिन्थ्यो । दोहोरी साँझहरुले पनि पार्टी प्यालेसमै कार्यक्रम गर्दथे । अहिले म्युजिक भिडियो बनाउने क्रम पहिलेभन्दा घटेको छ । जसको मर्कामा पार्टी प्यालेस परेको छ । विभिन्न संघसंस्था, राजनीतिक दलका कार्यक्रम पनि पार्टी प्यालेसमै आयोजना गरिन्थ्यो ।

पछिल्लो समय राजनीतिक दलहरुले निकै न्यून मात्र कार्यक्रम गरिराखेका छन् । त्यो पनि पार्टी प्यालेसमा हुँदैन । बाहिर साधारणरुपमा कार्यक्रम गरिन्छ । उद्योग व्यवसायी, यातायात व्यवसायी, निर्माण व्यवसायीलाई पनि आर्थिक मन्दीले छोएको देखिन्छ । उनीहरुले पनि आर्थिक मन्दीका कारण कार्यक्रम गर्न छाडे । केही समययता पार्टी प्यालेस खुल्ने क्रम ह्वात्तै बढेको छ ।

भव्य नाफा हुने भएकाले अधिकांशले पार्टी प्यालेसमा लगानी गरेका छन् । काठमाडौं उपत्यका होस् या बाहिरी जिल्ला, पार्टी प्यालेस सबैतिर खुलेका छन् । दुई–तीन घरको बीचमा पार्टी प्यालेस भेटिन्छ । पार्टी प्यालेस पछिल्लो समय किराना पसलझैँ भएको छ । ६ आनादेखि तीन रोपनीसम्म जग्गामा पार्टी प्यालेस सञ्चालन भएका छन् । घना बस्ती र बाटाको छेउमा पार्टी प्यालेस छन् ।

पार्टी प्यालेसले खानाअनुसार प्लेटको १३ सयदेखि ३५ सय रुपियाँसम्म लिँदै आएका थिए । तीन वर्षअघि पार्टी प्यालेसलाई भोज गरेर भ्याइनभ्याइ हुन्थ्यो । एक दिनमै दुई–तीनवटासम्म कार्यक्रम हुन्थे । जसका कारण पार्टी प्यालेस खोल्नेको लर्को लाग्यो । बैंकहरुले त्यही नाफा देखेर आँखा चिम्ली पार्टी प्यालेसमा लगानी गरे । पार्टी प्यालेसमा क्यासको व्यापार हुन्छ ।

एउटै पार्टी प्यालेसले दिनको १० लाख, करोडसम्म आम्दानी गर्दै आएका थिए । जसका कारण बैंकहरुको आँखा त्यतातिर गयो । अहिले पार्टी प्यालेस सञ्चालकहरुलाई बैंकको कर्जा कसरी तिर्ने ? भन्ने चिन्ताले पिरोलेको छ । उनीहरु पार्टी प्यालेस छोडेर भाग्नुपर्ने स्थितिमा पुगेका छन् । पार्टी प्यालेस सञ्चालकले ऋण तिर्न नसकेपछि बैंकहरुसँग पनि लिलामीबाहेकको विकल्प छैन ।

तलब दिन नसकेपछि पार्टी प्यालेस सञ्चालकहरुले कामदारहरुलाई धमाधम कामबाट निकालिरहेका छन् । पार्टी प्यालेसले गर्दा धेरैले रोजगारी गुमाएका छन् । पार्टी प्यालेसमा भोज हुँदा भाडा माझ्नेदेखि लिएर कुकसम्मले जागिर पाएका थिए । मासिक १० हजारदेखि लिएर ३५ हजारसम्म तलब खाने थिए । हाल जागिर गएपछि उनीहरु पनि तनाव छन् । उनीहरु के गर्ने ? भनेर समस्यामा छन् ।

पार्टी प्यालेसमा विवाह, व्रतबन्ध र भोज गर्न सहज भए पनि पैसाबाट निकै महँगो थियो । सबैले खाएको शुल्कको रेट एउटै थियो । चाहे त्यो बच्चा होस् या बूढा । बच्चाले प्लेट समात्यो भने पनि त्यही पैसा, बूढाले समात्यो भने पनि त्यही पैसा । बच्चा र बूढाले कतिचाहिँ खान्छन् र ? पार्टी प्यालेसका खानाको गुणस्तरलाई लिएर पटक–पटक प्रश्न उठिसकेको छ । सरसफाइहीन र गुणस्तरहीन खाना पार्टी प्यालेसले बेच्दै आएको छ ।

पार्टी प्यालेसको खानाले बिरामी भएका घटनाहरु पनि सार्वजनिक भएका छन् । यी सबै विषयलाई साइडमा राखेर सर्वसाधारणले भोज गर्दै आएका थिए । तर, आर्थिक मन्दीले च्यापेपछि भोज गर्ने क्रम रोकिएको छ । एक समय फिल्म हल, गलैँचा, गार्मेन्ट पार्टी प्यालेसझैँ खुलेका थिए । नचलेपछि बिस्तारै बन्द भए । अहिले पार्टी प्यालेस पनि त्यही अवस्थामा छन् । आम्दानी नभएपछि पार्टी प्यालेस बन्द गरेर हिँड्नुपर्ने अवस्था बनेको छ । बिहे गर्नेहरुले पनि साटाकसुटुक मन्दिरमा गरिरहेका छन् । अधिकांश कार्यक्रम घरमै गरिँदै छ । महँगी बढेको छ । रोजगारी छैन । त्यसैले पनि सर्वसाधारणले खर्च कटौती गर्न थालेका छन् ।
बैंकहरुले धितो राखेर कर्जा दिन्छन् । ऋणीहरुले ऋण तिर्न सकेनन् भने धितो लिलाम गर्ने हो । कानुन पनि त्यही हो, व्यवहारमा पनि त्यही छ । बैंकहरुले धितो त लिलाम गर्ला तर कसलाई लगेर भिडाउने । घरजग्गा त्यत्तिकै छन्, अब पार्टी प्यालेस पनि । आर्थिक मन्दीले त बैंकलाई पनि रुवाएको छ । बैंकहरुले लिलामीमा राख्दा पनि किन्ने कोही छैनन् । बैंक तथा वित्तीय संस्थाले छिटो नाफा कमाउन खोजे । जसका कारण आँखा चिम्लेर लगानी गरियो । बैंकहरुले कर्जा दिने भएपछि व्यक्तिले धमाधम ऋण ल्याउँदै त्यहीँ लगानी गरे ।

व्यापार व्यवसाय त डुबिहाले, बैंकलाई पनि सकस प¥यो । पहिले–पहिले सम्पूर्ण कार्यक्रमहरु घरमै हुन्थे । बिहे, व्रतबन्ध, काजकिरिया पनि घरमै गरिन्थ्यो । पछिल्लो तीन दशकदेखि नेपालीको बानी बिग्रियो । हुनेखानेहरुले पार्टी प्यालेसबाट भोज लगाउँथे । अरुमा पनि त्यसकै प्रभाव प¥यो । देखासिकीले गर्दा सबैले बिहे, व्रतबन्ध पार्टी प्यालेसबाट गर्न थाले । जायजेथो बेच्ने, ऋण लिने अनि भोज दिने ।

आर्थिक मन्दीले सबैलाई पुरानै स्थितिमा पु¥याएको छ । बिहे, व्रतबन्ध, मृत्यु अनिवार्य संस्कार हो । यसलाई नै व्यापार गरेर कमाउने माध्यम बनाए, पार्टी प्यालेस सञ्चालकहरुले । पार्टी प्यालेस सञ्चालकका कारणले नेपालीहरुको संस्कार नै संकटमा परिसकेको छ । संस्कार गर्नलाई लाखौं, करोडौं रुपियाँ खर्च गर्नुपर्ने भन्ने छैन । सामान्यरुपमा थोरै खर्च गरेर पनि संस्कार हुन्छ ।

अहिले त संस्कारमाथि देखासिकी हाबी भएको छ । देखासिकीका कारणले आर्थिक अवस्था कमजोर भएकाहरुले संस्कार गर्नै नसक्ने अवस्था आयो । बाहुनहरु पनि निकै धर्माती थिए । अहिले त बाहुन पनि कमाउनतिर लागेका छन् । धर्मकर्म सबैले बिर्सिए, सबै कमाउनतर्फ मात्र केन्द्रित छन् । विगतमा सबैजना घरमा भेला हुन्थे । मिलीजुली संस्कार गर्थें । रमाइलो हुन्थ्यो । पार्टी प्यालेसले गर्दा बेथिति निम्तियो । नेपाली संस्कार पनि संकटमा प¥यो । ठगी र बेथिति निम्त्याएको पार्टी प्यालेस आफैं टिक्न सकेन । बन्द हुने अवस्थामा पुग्यो ।

– सविना केसी ।

प्रतिक्रिया दिनुहोस्