क्रोएसिया यूरो कपमा छनोट



लन्डन, (एजेन्सी) । 

क्रोएसिया युरो २०२४ मा स्वत छनोट हुने अन्तिम टोली बनेको छ । अर्मेनियालाई १–० ले पराजित गर्दै क्रोएसिया समूह डी बाट दोस्रो स्थानमा रहँदै युरोकपमा छनोट भएको हो । यो जितले वेल्सलाई तेस्रो स्थानमा धकेलेको छ र वेल्सले प्लेअफ खेल्नु पर्नेछ । यो समूहको शीर्ष टोली टर्की हो ।

क्रोएसिया २००४ को युरोकपदेखि लगातार प्रतियोगितामा छनोट हुँदै आएको छ । साथै टोली २०१० देखि प्रमुख प्रतियोगिताहरुमा पनि छनोट भइरहेको छ । क्रोएसियाका स्टार खेलाडी लुका मोडरिकले पनि खेलिरहेका छन् । ३८ वर्ष भइसकेका उनले खेलेमा उनको नवौं प्रमुख प्रतियोगिता समेत हुनेछ ।

क्रोएसियाको सबैभन्दा राम्रो नतिजा २०१८ को विश्वकप थियो । रुसमा आयोजित सो प्रतियोगितामा क्रोएसिया फाइनलसम्म पुगेको थियो । फाइनलमा फ्रान्ससँग पराजित भएपछि मोडरिक तथा उनका टोली र समर्थक निरास भएका थिए । यस्तै गत विश्वकप २०२२ मा क्रोएसिया तेस्रो भएको थियो ।

आगामी वर्ष जर्मनीमा हुने युरोकपमा खेल्ने आयोजक राष्ट्रसँगै २१ टोलीको टुंगो लागिसकेको छ । १० समूहबाट राम्रो अंक ल्याएको तेस्रो टोलीबीच तीन स्थानका लागि छनोट खेल हुने बाँकी छ । यसमा
युरोकपमा छनोट भएका टोलीहरु
समूह ए: स्पेन, स्कटल्यान्ड
समूह बीः फ्रान्स, नेदरल्यान्डस्
समूह सी: इंग्ल्यान्ड, इटाली
समूह डी:टर्की, क्रोएसिया
समूह ई: अल्बानिया, चेक रिपब्लिक
समूह एफ: बेल्जियम, अस्ट्रिया
समूह जी: हंगेरी, सर्बिया
समूह एच:डेनमार्क, स्लोभेनिया
समूह आई: रोमानिया, स्विटजरल्यान्ड
समूह जे: पोर्चुगल, स्लोभाकिया
कुन कुन टोली प्लेअफमा खेल्नेछ ?
ए तर्फ: पोल्यान्ड, वेल्स, इस्टोनीया तथा फिनल्यान्ड, युक्रेन वा आइसल्यान्ड मध्ये एक ।
बी तर्फ: इजरायल, बोस्निया हर्जगोविना, फिनल्यान्ड, युक्रेन वा आइसल्यान्ड मध्ये दुई ।
सी तर्फ: जर्जिया, ग्रीस, काजाखस्तान, लक्जेमबर्ग

यसमा ६ वटा सेमिफाइनल खेलाइनेछ । त्यसबाट जितेको टोलीहरुबीच फाइनल खेलाइनेछ र जित्ने टोलीहरुले युरोकपमा बाँकी रहेको तीन स्थान पुरा गर्नेछ ।

युरोकपमा छनोट हुन नसकेको टोली

सन् २००० पछि पहिलो प्रमुख प्रतियोगिता खेल्ने पर्खिरहेको नर्वेको पर्खाइ अझै सकिएको छैन । यसपटक पनि हालान्ड जस्ता भविष्यका सुपरस्टार सम्मिलित भएपनि नर्वेले युरो २०२४ मा छनोट गर्न सकेन । समूह ए मा रहेको नर्वे स्पेन र स्कटल्यान्डपछि परेको छ । यसैगरी नर्थ मेसेडोनिया पनि युरोमा हुनेछैन । टोली पहिलो पटक २०२० मा छनोट भएको थियो । यस्तै रुस पनि युरो कपमा देखिनेछैन । किनभने युक्रेनमाथि हमला भएपछि रुसलाई यूएफा प्रतियोगितामा खेल्न प्रतिबन्ध लगाइएको छ । जुन अहिलेसम्म पनि जारी छ ।

शीर्ष गोलकर्ता
युरोकप २०२४ को छनोटमा बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु गोलगर्ने सूचीमा शीर्ष स्थानमा रहे । उनले १४ गोल गरेका छन् । उनी पछि पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो रहेका छन् । रोनाल्डोले १० गोल गरेका छन् । यस्तै ९ गोलसहित फ्रान्सका क्लियन एम्बाप्पे तेस्रो स्थानमा रहे । यसैगरी इंग्ल्यान्डका कप्तान हेरी केनले ८ गोल गरे भने डेनमार्कका रासस होइलन्ड र स्कटल्यान्डका स्कट मेकटोमीनेले ७÷७ गोल गरेका छन् ।

६ टोली अपराजेय
युरोकप २०२४ छनोटमा ६ टोलीले हार नै मानेनन् । पोर्चुगलले १० मा दशै खेल जित्यो । यसरी सबै खेल जित्नेमा पोर्चुगल एक्लो टोली थियो । पोर्चुगलले २ गोल आत्मसात गर्दा ३६ गोल विपक्षीको पोस्टमा प्रहार गरेको थियो ।
यसैगरी फ्रान्सले ८ मा ७ खेल जित्यो भने अन्तिम समूह खेलमा ग्रीससँग २–२ बराबरीमा रोकिएको थियो । अन्य अपराजेय टोलीमा इंग्ल्यान्ड, बेल्जियम, हंगेरी र रोमानिया रहेका छन् । स्पेनले अन्तिम ६ खेलमा जित हासिल गरेको थियो ।

हालान्ड हुने छैन
अर्लीङ हालान्ड आगामी जर्मनीमा हुने युरोकपमा हुनेछैनन् । नर्वे छनोट नभएपछि हालान्ड प्रतियोगितामा देखा नपर्ने भएका हुन् । उनी हालका उदीयमान खेलाडीमध्ये एक हुन् । उनले म्यानचेस्टर सिटीलाई प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कप दिलाउन सहयोग गरेका थिए । तर, यो उपलब्धिले उनलाई युरोकपमा खेल्न भने ग्यारेन्टी दिएन । उनले नर्वेले १४ गोल गरेकोमा ६ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्