थ्री स्टार क्लबको नेतृत्वमा शाक्य



काठमाडौँ।

थ्री स्टार क्लबका संस्थापक समेत रहेका ज्ञान बहादुर शाक्य नेपाली फुटबलको प्रतिष्ठित क्लब थ्री स्टार क्लबको अध्यक्षमा निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न क्लबको अधिवेशनबाट शाक्य अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

क्लबको नयाँ कार्यसमितिमा निर्मल रत्न शाक्य, विरेन्द्र लाल श्रेष्ठ, कृष्ण अवाले, जय कृष्ण श्रेष्ठ, रमेश अवाले र राम कृष्ण श्रेष्ठ उपाध्यक्षमा निर्वाचित हुँदा महासचिवमा धर्मेन्द्र राज शाक्य र कोषाध्यक्षमा राम कृष्ण चित्रकार नियुक्त भएका छन् ।

त्यस्तै सचिवमा कुल बहादुर महर्जन र निवास गोपाल बैद्य, सहकोषाध्यक्षमा देवेन्द्र लाल श्रेष्ठ र सदस्यहरुमा प्रेमबहादुर चित्रकार, रामेश्वर अवाले, हरि महर्जन र मुकेश नकर्मी निर्वाचित भएका छन् ।

ललितपुरको पाटनढोकास्थित अशोक पार्टी प्यालेसमा आइतबार आयोजित वार्षिक साधारण सभा उद्घाटन सत्र कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरका क्लबहरुलाई प्रोत्साहन गर्दै आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एंव एन्फाका कार्यबाहक अध्यक्ष समेत रहेका स्व. ललित कृष्ण श्रेष्ठलाई मरणोपरान्त सम्मान गरिएको थियो ।

यसैगरी, एन्फा अध्यक्ष नेम्वाङले समृद्ध इतिहास बोकेको र फुटबल विकासमा अतुलनीय योगदान पुर्याउदै आएको क्लबको नयाँ आउने कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै सधैं हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दा एनएसजेएफ अध्यक्ष सुवेदीले नेपाली फुटबलमा पुर्याएको टेवाको प्रशंसा गर्दै नेपाली फुटबलमा क्लबले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए ।

त्यस्तै क्लबका निवर्तमान अध्यक्ष अरुणमान जोशीले आफ्नो कार्यकालमा सहयोग पुर्याउने क्लबका कार्यसमिती, खेलाडी, पदाधिकारी, प्रायोजक, सहप्रायोजक, समर्थक लगायतलाई धन्यवाद दिए ।

उद्घाटन शत्रमा अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष पंकज बिक्रम नेम्वाङ , नेपाल ओलम्पिक कमिटी(एनओसी)का कार्यकारी निर्देशक तथा उपाध्यक्ष चतुरानन्द राजबैद्य, महासचिव निलेन्द्र राज श्रेष्ठ, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन लगायतको उपस्थिति थियो ।

त्यस्तै कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ(एनएनआइपी)का अध्यक्ष दिपक श्रेष्ठ, नेपाल ओलम्पियन संघका अध्यक्ष दिपक बिष्ट, नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का अध्यक्ष देवेन्द्र सुवेदी र ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज बज्राचार्यको पनि उपस्थिति रहेको थियो ।

यसै कार्यसमितिको प्रथम बैठकबाट बिधान अनुसार अतिश कृष्ण श्रेष्ठ र सञ्जीव शिल्पकारलाई सल्लाहकार समितिको सदस्य नियुक्त गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्