स्वास्थ्यमन्त्री बस्नेतद्वारा नगर अस्पतालको शिलान्यास 



काभ्रेपलान्चोक। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिकामा निर्माण हुने १५ शय्याको नगर असपतालको आईतबार एक समारोहबिच शिलान्यास गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मण्डनदेउपुर नगरपालिकाको लागत साझेदारीमा २२ करोड ८६ लाखको लागतमा वडा नम्बर ७ मा निर्माण हुन लागेको उक्त नगर अस्पताल विसं २०८१ पुसभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

 शिलान्यास समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले जनताले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल भवन निर्माण गरेर मात्र नपुग्ने बताउँदै त्यसका लागि आवश्यक जनशक्ति र उपकरणको आवश्यकता पर्ने बताए । नेपाल सरकारले विसं २०५४ सालदेखि स्वास्थ्यमा दरबन्दी थप नगरेकोले अहिले निर्माण भइरहेका अस्पतालहरूमा जनशक्तिको अभाव देखिएको बताउँदै बस्नेतले स्वास्थ्यमा थप दरबन्दी थप्न आफूले पहल गरिरहेको र त्यसको परिणाम चाडै देखिने दाबी गरे । मन्त्री बस्नेतले भने, ‘ विगतका स्वास्थ्य मन्त्रीहरुले जनशक्ति बढाउने तिर ध्यान दिएनन् । जसको फलस्वरुप अस्पताल भवनहरु मात्र बने तर जनशक्ति बढेन । अब म जनशक्ति बढाउने काममा लागेको छु । ६ महिनाभित्र नेपालका सरकारी अस्पतालहरूमा अत्यावश्यक जनशक्तिको दरबन्दी सिर्जना हुन्छ । ’

देश भरिका अधिकांश अस्पतालहरूमा ठूला उपकरणको अभाव देखिएको बताउँदै मन्त्री बस्नेतले विश्व बैंकको सहयोगमा स्वास्थ्य मन्त्रालयले साना खालका उपकरण किनेर असपतालहरुलाई उपलब्ध गराउन लागेको जानकारी दिए । अधिकांश ठेकेदारहरुले निर्माणको काम समयमा नसक्ने र कम गुणस्तरको भवन बनाउने गरेका गुनासो आइरहेको बताउँदै मन्त्री बस्नेतले समयमै भवन निर्माण सम्पन्न गराउन पालिकाका अधिकारीले खबरदारी जारी राख्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्व गृह सचिव जनार्दन नेपालले गुणस्तरीय उपचार सेवा प्रदान गर्न अस्पताल भवनसँगै उपकरण र जनशक्ति हुनै पर्ने बताउँदै पछिल्ला वर्षमा मेडिकल कलेज , नर्सिङ कलेज खोल्ने क्रम बन्द भएपछि स्वास्थ्यको प्राविधिक जनशक्तिको अभाव देखिन लागेको बताए ।

मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले १० शय्याको नगर अस्पताल बनाउने कुरा अगाडि बढ्न लागेको बेला  स्वास्थ्य मन्त्री बस्नेतको पहलमा ५ शय्या थप भएर १५ शय्याको अस्पताल निर्माण हुन लागेको बताउँदै अस्पतालमा जनशक्तिको अभाव भएकाले स्वास्थ्यकर्मीको व्यवस्था गरिदिन आग्रह गरे ।

 मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले अहिले सञ्चालनमा रहेको ५ शय्याको अस्पतालमा निजी क्षेत्रमा एक जना चिकित्सक करारमा नियुक्त गरिएको जानकारी गराउदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक चिकित्सकको व्यवस्था गरिदिन आग्रह गरे ।

शिलान्यास कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले स्वास्थ्य मन्त्री बस्नेत समक्ष अस्पतालमा आवश्यक पर्ने चिकित्सक र उपकरणको व्यवस्था गरिदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्