फुटबल प्रतियोगीतामा एक्टीभ ब्वाईज क्लब विजेता 



दोलखा । 

दोलखा जिल्ला फुटबल संघले आयोजना गरेको बागमती क्लब स्तरीय प्रथम खुल्ला पुरुष फुटबल प्रतियोगीतामा एक्टीभ ब्वाईज क्लब खरीढुङ्गा विजेता बनेको छ । प्रतियोगीतामा लालिगुँरास युवा क्लब चरिकोट उपविजेता बनेको छ ।

शनिवार भएको फाइनल खेलमा एक्टीभ ब्वाईज क्लब खरीढुङ्गाले लालिगुरास युवा क्लब चरिकोटलाई २– १ को अन्तरले पराजित गरेको थियो । प्रतियोगीतामा विजेता टिमलाई दुई लाख ५० हजार नगद, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमलाई एक लाख २५ हजार नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक दोलखा जिल्ला फुटबल संघका अध्यक्ष कौरव पाण्डेले बताए ।

प्रतियोगीतामा वेस्ट प्लेयर लालिगुरास युवा क्लब चरिकोटका मनु गुरुङ, वेस्ट गोलकिपर एक्टिभ ब्वाईज क्लब खरीढुङ्गाका नविन सिलवाल, वेस्ट कोच एक्टिभ ब्वाईज क्लब खरीढुङ्गाकै मनोज श्रेष्ठ र सर्वाधिक गोलकर्ता सिन्धुपाल्चोक फुटबल संघका अजय तामाङ भएका छन् । वेस्ट प्लेयरलाई सात हजार पाँच सय नगद र मेडल तथा प्रमाणपत्र र अन्यलाई पाँच हजार नगद र मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगीतामा दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ र नुवाकोटको ११ वटा टिमको सहभागिता रहेको थियो । दोलखा जिल्ला फुटबल संघका अध्यक्ष कौरव पाण्डेको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा बागमती प्रदेश सांसद कुन्दनराज काफ्ले, भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वरनारायण मानन्धर, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर लगायतले मन्तव्य व्यक्त गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस्