चीन विरोधी गतिविधिमा नेपाली भूमि प्रयोग हुँदैन



काठमाडौँ। 

चिनिया कम्युनिष्ट पार्टी (सीपीसी) को युनान प्रान्तीय समितिले युनान प्रान्तको कुनमिङमा ‘उच्च गुणस्तरीय विकासका स्तम्भहरु बढाउँदै, बेल्ट एन्ड रोड सहकार्यको उज्यालो भविष्यलाई अङ्गाल्ने’ भन्ने विषयमा दक्षिण पूर्व र दक्षिण एसियाली देशका राजनीतिक दलसँग संवाद आयोजना गरेको छ ।

उक्त कार्यक्रमको दोस्रो दिन शुक्रवार सीपीसीको उप– मन्त्री, महानिर्देशक र विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । शुक्रवारको वहसमा नेपालको तर्फबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य शोभित उप्रेतीले आफ्ना धारणाहरु प्रस्तुत गरेका छन् ।

कार्यक्रममा  आफ्ना धारण प्रस्तुत गर्दै  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले चीन विरोधी गतिविधिमा नेपाली भूमि प्रयोग गर्ने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । अध्यक्ष नेपालले पछिल्लो समय नेपालमा आन्तरीक द्वन्द्व चर्काउने, सैन्य तथा सुरक्षा सहयोग मार्फत भूराजनीतिक रुपमा चीनलाई घेराहाल्न हाम्रो भूमि प्रयोग गर्ने जस्ता गतिविधि हुनसक्ने तर्फ सचेत रहेको उल्लेख गर्दै  त्यस्तो कामलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएका हुन् ।

संवादको क्रममा आफ्नो धारणा प्रस्तुत गर्दै  राप्रपाका केन्द्रीय सदस्य शोभित उप्रेतीले दक्षिण पूर्व तथा दक्षिण एसियाली क्षेत्रको शान्ति र समृद्धिको लागि चीनले निर्शत सहयोग गर्नुपर्ने बताएका थिए । उनले यो विषयमा सञ्चारमाध्यमहरु बढी सचेत र सर्तक हुनुपर्ने बताएका थिए ।

उप्रेतीले बेल्ट एन्ड रोड परियोजना सफलताको लागि स्थानीय अवस्था र क्षेत्रीय देशहरुको विशेषतामा आधारित सञ्चार रणनीति बनाउनु पर्नेमा जोड दिए ।

कार्तिक २३ बिहीबार (नोभेम्बर ९) देखि आयोजना भएको वहस कार्यक्रमको पहिलो दिने नेपालको तर्फबाट माननीय राजेन्द्र केसीले आफ्ना धारणा प्रस्तुत गरेका थिए  । एक सातासम्म चल्ने कार्यक्रममा नेपालको तर्फबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, कृषि मन्त्री बेदुराम भुषाल, राप्रपाका केन्द्रीय सदस्य शोभित उप्रेती, माननीय राजेन्द्र केसी लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्