गण्डकीका मुख्यमन्त्री र सिपीसी सेक्रेटरीबीच  भेटवार्ता

तिब्बती नाका, कोरलासम्मको सडक, पोखरा एयरपोर्ट लगायतका विषयमा छलफल



पोखरा। 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङ बीच  भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रवार उनीहरुबीच  भेटवार्ता भएको हो ।

भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशसँग जोडिएका मनाङ, मुस्ताङ र गोरखा जिल्लाको तिब्बती नाकाहरु नियमित सञ्चालन गरी प्रदेशवासीको दैनिकीलाई सहज बनाउनमा आवश्यक सहयोग गरिदिन अनुरोध गरे ।

कोरला नाकामा नेपाल तर्फ आवश्यक पूर्वाधार निर्माणकालागि सघाउन, कोरला–पोखरा जोड्ने दुई लेनको दु्रत मार्ग निर्माण, तनहुँमा सय शय्याको अस्पताल निर्माणमा सहयोगको अपेक्षा रहेको मुख्यमन्त्री पाण्डेले सेक्रेटरी वाङ छुङछेङलाई बताए ।

चिनको सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्हासा, छेन्दु, गोन्जाओ लगायत शहरहरुबाट नियमित सिधा उडानका लागि अनुरोध गरे । ‘यसले दुई देश बिच व्यापार, पर्यटन एवं जनसम्पर्कलाईपनि मद्दत पु¥याउनेछ’ मुख्यमन्त्री पाण्डेले भने ।

भेटका क्रममा सेक्रेटरी वाङ छुङछेङले कोरला नाका कात्तिक २७ गते (नोभेम्वर १३) मा खोल्ने योजना रहेको बताए । साथै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनको शहरबाट सिधा उडान गर्ने विषयमा आफू  प्रतिबद्ध रहेको बताउँदै प्राविधिक टिमलाई यसबारे अध्ययन गर्न पठाउने बताए । गण्डकी प्रदेशलाई पहिलो प्राथमिकतामा राखेर तिब्बतले सहयोग गर्ने बताउँदै सेक्रेटरी वाङ छुङछेङले मुख्यमन्त्री पाण्डेलाई चिन र तिब्बतको भ्रमणको निम्ता दिए ।
तिब्बत सँगको सम्बन्ध अहिले मात्र नभई इतिहासदेखि प्रगाढ रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले भृकुटीले स्थापित गरेको नेपाल तिब्बत सम्बन्धको स्मरण गरे ।

 १२ औँ शताब्दी तिर अरनीकोले नेपाल चिनको सम्बन्धलाई  थप प्रगाढ बनाएको बताउँदै उनले भने ‘घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध कायम राख्दै उत्कृष्ट द्विपक्षीय सम्बन्धलाई सदियौँदेखि निरन्तरता दिइरहने मित्र राष्ट्र नेपाल र चिन पनि हो ।’

मुख्यमन्त्री पाण्डेले सेक्रेटरी वाङ छुङछेङलाई स्वागत गर्दै नेपाल भ्रमण सफलताको कामना व्यक्त गरे । सेक्रेटरी वाङ छुङछेङको गण्डकी प्रदेश र नेपाल भ्रमणले द्धिपक्षिय सम्बन्ध थप प्रगाढ हुनुका साथै पोखराको पर्यटन प्रवर्द्धनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे । भेटमा दुईदेश बीचको आपसी सम्बन्ध, सहकार्य र हितका अन्य विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्