खलंगा च्याम्पियन, देहिमाडौं स्तब्ध



बैतडी।

बैतडीको दशरथचन्द नगरपालिकाले आयोजना गरेको नगरस्तरीय टि–२० पुरुष क्रिकेटको उपाधी दनपा ४ ले हात पारेको छ ।
बुड्डाबाजे खेलमैदान रातामाटामा भएको फाइनल खेलमा दनपा २ लाई २ रनले पराजित गर्दै दनपा ४ ले उपाधी जितेको हो । उपाधीसंगै खलंगाले नगद २२ हजार ५ सय र उपविजेता दनपा २ ले नगद १५ हजार प्राप्त गरे । फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको दनपा ४ ले १६.१ ओभरमा अलआउट हुँदै ५६ रन बनायो । टोलीका लागि डम्मर तिरुवाले १४ र प्रदीप चन्दले १३ रनको योगदान गरे ।

बलिङतर्फ दनपा २ ऋषिकेश बोहराले ५ र सन्तोष विजलेले २ विकेट लिए । ५७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दनपा २ ले १३.५ ओभरमा अलआउट हुँदै ५४रन मात्रै बनाउन सक्यो । टोलीका लागि खडक बोहराले १५ र दिपक बोहराले १४ रन बनाए पनि जित पाउन सकेन । बलिङतर्फ दनपा ४ का गोविन्द नाथले दुई विकेट लिए । उनी फाइनल अफ द म्याच घोषित भए ।

दनपा ४ का प्रदीप चन्द फाइनल अफ दि सिरिज भए । उनले नगद २ हजार २ सय ५० प्राप्त गरे । बेस्ट बलरको उपाधी समेत हात पारेका चन्दले थप नगद १ हजार १ सय २५ पाए । दनपा ५ का सुमन रावल बेस्ट ब्याट्सम्यान हुँदै नगद १ हजार १ सय २५ हासिल गरे ।

नगर खेलकुद विकास समितिको बार्षिक कार्यतालिका र दशरथचन्द नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा ११ ओटै वडाका ११ टीमको सहभागिता रहेको थियो । नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दको अध्यक्षतामा भएको समापन समारोहमा नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) प्रमुख अतिथी रहेका थिए । यस्तै भलिबलका प्रशिक्षक हरिसिंह भण्डारी बिशिष्ट अतिथी रहेका थिए ।

यस्तै प्रतियोगितामा समापन समारोहमा दनपाका क्रिकेटका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुलाई सम्मान समेत गरिएको छ । जसमा धिरेन्द्र चन्द, मनोजराज जोशी, जगदीश चन्द, खडक बोहरा, कमलसिंह ऐरी, योगेन्द्र कार्की र दिपक बोहरालाई सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्