म्यानचेस्टर सिटी प्रिक्वाटरमा प्रवेश



लन्डन, (एजेन्सी)

साविक विजेता म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको प्रिक्वाटर फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा १० खेलाडीमा सिमित योङ ब्वाइजलाई ३–० गोलअन्तरले हराउँदै सिटी प्रिक्वार्टरफाइलनमा पुग्ने सिजनको पहिलो टोली बनेको हो । घरेलु मैदान इत्तिहादमा सिटीलाई जित दिलाउन स्टार खेलाडी एर्लिङ हाल्यान्डले दुई तथा फिल फोडेनले एक गोल गरे । खेलको २३औं मिनेटमा हाल्यान्डले पेनाल्टीमा गोल गरेका थिए ।

पहिलो हाफमा इन्जुरी समयमा फोडेनले गोल गर्दा हाल्यान्डले ५१औं मिनेटमा गोल गरेका हुन् । भ्रमणकारी टोलीका लौपेरले रातो कार्डको सामना गरेका थिए । नर्वेजियन स्ट्राइकर अहिले खुट्टाको चोटबाट संघर्षरत छन् । तर, च्याम्पियन्स लिगमा भने उनी पुरा छाएका थिए । यो जितपछि सिटी लगातार ११ पटक अन्तिम १६ स्थान बनाएको छ । साविक विजेता युरोपियन च्याम्पियनसिपमा लगातार १८ खेलसम्म अपराजित यात्रा कायम राख्न सफल भयो ।

समूह ‘जी’ मा सिटीको चार खेलबाट चार जितसहित १२ अंक छ । आरबी लाइपजिगको ९ तथा रेड स्टार र योङ ब्वाइजको समान एक अंक छ । सोही समूहमा भएको अर्को खेलमा आरबी लाइपजिगले रेडस्टार बेलग्रेडलाई २–१ ले हरायो। समूहमा सिटीको शत प्रतिशत नतिजा रहेको छ । सिटी ४ खेलमा १२ अंक सहित पहिलो स्थानमा छ । लाइपजिगको ४ खेलमा ३ जित सहित ९ अंक छ । बेलग्रेड र योङ ब्वाइजको समान एक–एक अंक छ । यस समूहबाट सिटी र लाइपजिग दोस्रो चरणमा प्रवेश गरेका छन् । अब, सिटीले नोभेम्बर २५ मा चिरपरिचित लिभरपुलसँग खेल्नेछ ।

त्यसैगरी युरोपेली च्याम्पियन्स लिगको समूह एफमा मंगलबार इटालियन टोली एसी मिलान र जर्मन टोली बोरुसीया डर्टमन्ड विजयी भएका छन् । एसी मिलानले पिएसजीलाई र डर्टमन्डले न्युक्यासल युनाइटेडलाई हराएको हो । एसी मिलानले २–१ को पुनरागमन जित हासिल गरेको हो । खेलमा नवौं मिनेटमा पिएसजीका डिफेन्डर मिलान स्क्रीनियारले गोल गर्दै अग्रता दिलाएका थिए । भिटिन्हाको कर्नरमा मार्किन्होसको फ्लिक पासमा स्क्रीनियारले खाली रहँदै सहज गोल गरेका थिए ।
तर, मिलानले तीन मिनेट पछाडि नै बराबरी गोल फर्कायो । ओलीभियर जिरुडको प्रहार पिएसजी गोलरक्षक डोन्नारुमाले बचाएपछि रिबाउन्डमा राफाएल लेआओले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । मिलानले अग्रता भने दोस्रो हाफमा लियो । ५०औं मिनेटमा थियो हर्नान्डेजको सुन्दर क्रसमा हेडर मार्फत गोल गर्दै जिरुडले अग्रता दिलाए । अन्त्यमा त्यही गोल जितका लागि पर्याप्त भयो ।

त्यस्तै, सोही समूह कै अर्को खेलमा डर्टमन्डले न्युक्यासल युनाइटेडमाथि २–० को जित निकाल्यो । डर्टमन्डका लागि निकोलास फुलक्रुग र जुलियन ब्रान्ड्टले गोल गरेका हुन् । जितपछि समूहमा डर्टमन्ड ४ खेलमा ७ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ । पिएसजी समान ४ खेल्न २ जित र २ हारसहित ६ अंक जोड्दै दोस्रो छ । ५ अंक रहेको मिलान तेस्रो र ४ अंक सहित न्युक्यासल अन्तिम स्थानमा छ ।

समूह एचको खेलमा भने बार्सिलोना युक्रेनी टोली शाख्तर डोनेत्सकसँग पराजित भएको छ । बार्सिलोना १–० को गोल अन्तरले पराजित भएको हो । बार्सिलोनालाई दुई खेल अगावै अर्को चरण प्रवेश गर्न कम्तीमा बराबरी आवश्यक थियो । तर, बार्सिलोनाले भने यस खेलबाट कुनै अंक हासिल गर्न सकेन । खेलको ४०औं मिनेटमा शाख्तरले खेलमा अग्रता लियो । सुडाकोभको लङ्ग–रेन्ज स्विच पछि राइट–ब्याक गोचोलिशभिलीको राम्रो क्रसमा हेडर मार्फत गोल गर्दै ड्यानीलो सिकानले खेलमा आग्रह दिलाएका थिए । न्यूवरटनले ८७औं मिनेटमा शाख्तरको अग्रता दोब्बर बनाएका थिए । तर, गोल अफसाइड दिइएका कारण मान्य भएन । बार्सिलोनाले भने बराबरी गर्ने कुनै स्पष्ट मौका सृजना गर्न नसक्दा खेल सुम्पियो । त्यस्तै सोही समूह अन्तर्गत गएराति सम्पन्न अर्को खेलमा पोर्टोले रोयल एन्टवर्पलाई २–० ले हरायो । हारपछि चार खेलमा ३ जित र एक हार बेहोरेको बार्सिलोना ९ अंक सहित पहिलो स्थानमा छ । ९ अंक नै रहेको पोर्टो दोस्रोमा रहँदा शाख्तरको ४ खेलमा ६ अंक रहेको छ । एन्तवर्प बिना कुनै अंक पुछारमा छ ।

त्यस्तै, स्पेनिस क्लब एट्लेटिको मेड्रिडले पनि स्कटल्यान्डको सेल्टीकमाथि ६–० को फराकिलो जित निकाल्यो । जितसँगै चार खेलमा आठ अंक जोडेको एट्लेटिको समूह ‘इ’ को शीर्ष स्थानमा उक्लिएको छ । तेस्रो पराजय व्यहोरेको सेल्टिक समान खेलबाट एक अंकका साथ अन्तिममा छ । घरेलु मैदान वान्डा मेट्रोपोलिटानो रंगशालामा एट्लेटिकोलाई जित दिलाउन एन्टोइन ग्रिजम्यान र अल्भारो मोराटले समान दुई तथा स्यामुयल लिनो र साउल निगुइजले समान एक गोल गरे ।

खेलको छैटौं मिनेटमा ग्रिजम्यानको गोलमार्फत एट्लेटिकोले अग्रता लिएको थियो । २३औं मिनेटमा डाइजेन मेइडाले रातो कार्ड व्यहोर्दै मैदान छाडेपछि सेल्टिक १० खेलाडीमा समेटियो । पहिलो हाफको इन्जुरी समयमा मोराटाले टोलीको अग्रता दोब्बर बनाए । ६०औं मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दा एट्लेटिको ३–० ले अगाडि बढ्यो । ६ मिनेटपछि लिनोले टोलीका लागि चौथो गोल गरे । ७६औं मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोको अग्रता ५–० को बनाए । ८४औं मिनेटमा निगुइजले गोल गर्दै एट्लेटिकोलाई ६–० को फराकिलो जित दिलाए ।

पेपे गोल गर्ने पाको खेलाडी

पोर्चुगलका रक्षक पेपे युइएफए च्याम्पियन्स लिगमा गोल गर्ने पाका खेलाडी बनेका छन् । च्याम्पियन्स लिगको इतिहासमा ४० वर्षको उमेरमा गोल गर्ने पेपे पहिलो खेलाडी बनेका हुन् । च्याम्पियन्स लिगको इतिहासमा नाम लेखाउने क्रममा पेपेले रोयल एन्टवार्पविरुद्ध हेड गोल गरेका थिए । समूह ‘एच’ को खेलमा एफसी पोर्टाेले रोयललाई २–० ले हरायो ।

पोर्टाेको जितमा डि लिमा बार्बोसाले ३२औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । पेपेले खेलको इन्जुरी समयमा एक गोल थप्दै जित सुनिश्चित गरेका थिए । यसअघि फ्रान्सिस्को टोटीले ३८ वर्ष ५९ दिनमा गोल गरेका थिए । पेपे सबैभन्दा बढी उमेरमा च्याम्पियन्स लिग खेल्ने खेलाडी समेत बनिसकेका छन् । पेपेले रियल मेड्रिडबाट खेल्दा तीन पटक च्याम्पियन्स लिगको उपाधि उचालेका छन् ।

प्रतिक्रिया दिनुहोस्