जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ



काठमाडौं।

काठमाडौं, स्याङ्जा, डडेल्धुरा र अछाममा जुवा खेल्दै गरेको अवस्थामा एकै रातमा ३९ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
काठमाडौं, नागार्जुन नगरपालिका-२ ठुलोभर्या ङस्थित गैरिगाउँ नजिक डेरा गरी बस्ने सिन्धुपाल्चोक तातोपानी घर भएकी ३७ वर्षीया साङ्गु शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पासमेत ६ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ११ हजार २ सय रूपैयाँ र ६ बुकतास सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, महानगरपालिका-४ धुम्बाराही पिपलबोटस्थित सुन्दर कार्कीको टहरामा जुवातास खेल्दै गरेको अवस्थामा दोलखा भिमसेन नगरपालिका-५ घर भई काठमाडौं काँडाघारी बस्ने ४० वर्षीय किरन थापा समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९२ हजार रुपैयाँ, २० हजार रूपैयाँको बैंक चेक १ थान र ११ बुक ताससहित पक्राउ गरेको हो ।

स्याङ्जा, पुतलीबजार नगरपालिका-८ बाहाकोट घर भई सोही नगरपालिका-४ नौडाँडामास्थित भिम बहादुर नेपालीको प्रशन्न होटलमा जुवातास खेलिरहेको अवस्थामा भिम बहादुरसमेत ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ३ सय रूपैयाँ र १ सय ५९ पत्ती ताससहित पक्राउ गरेको हो ।

डडेल्धुरा, अमरगढी नगरपालिका-२ भेलस्थित चन्द्र भण्डारीको कुखुरा फारममा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २४ वर्षीय वीरेन्द्र खडायत समेत ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले नगद १३ हजार ३५ रुपैयाँ र ३ बुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।

अछाम, पञ्चदेवल बिनायक नगरपालिका-३ कागतोला बस्ने बल बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने विनोद शाहीसमेत ९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिनायकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३६ हजार १ सय रूपैयाँसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्