गाजामा युद्धविराम नगर्ने इजरायलको अडान



काठमाडौं  । 

गाजा क्षेत्रमा हमासविरुद्ध प्रतिआक्रमण गरिरहेको इजरायलले राष्ट्रसंघको बारम्बारको आग्रह र अमेरिकालगायत अन्तर्राष्ट्रिय दबाबका बाबजुद पनि गाजामा युद्धविराम नगर्ने अडान लिएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाको न्युज च्यानल एबीसीलाई सोमबार दिनुभएको अन्तरवार्तामा हमाससँग युद्धविरामको सम्भावनालाई ठाडै अस्वीकार गर्नुभएको हो । हमासले बन्धक बनाएकाहरूको रिहा नभएसम्म कुनै पनि हालतमा इजरायलले युद्धविराम नगर्ने बताउँदै उहाँले तर आपत्कालीन राहतका लागि भने केहीबेर युद्ध रोक्न सकिने बताउनुभयो ।

अन्तरवार्ताका क्रममा उहाँले भन्नुभयो– ‘त्यहाँको अवस्था हेरी आपत्कालीन मानवीय सहायता गाजामा पठाउन र त्यहाँ हमासले बन्धक बनाएकाहरूको सहज बहिर्गमनका लागि हामी एक या दुई घण्टा युद्ध रोक्न सक्छौं । यस्तो काम हामीले पहिला पनि गरिसकेका छौं ।’ यसअघि नेपालस्थित इजरायली दूतावासका राजदूत खनान गोदेरले पनि हमासले बन्धक बनाएका इजरायली तथा अन्य देशका नागरिकको रिहा गरेर हतियार नबिसाएसम्म युद्ध नरोकिने बताउनुभएको थियो । गाजामा युद्ध समाप्त भएपछि कसले शासन गर्छ भनी सोधिएको प्रश्नको उत्तरमा इजरायली प्रधानमन्त्री नेतान्याहुले सुरक्षा जिम्मेवारीका कारणले उचित व्यवस्था नभएसम्म इजरायलले नै त्यहाँको शासन व्यवस्था हातमा लिने बताउनुभयो ।

यसैबीच अमेरिकाको राष्ट्रपति कार्यालयले पनि अमेरिकी राष्ट्रपति जो बाइडेन र नेतान्याहुबीच सोमबार गाजामा रणनीतिक विश्रामका बारेमा छलफल भएको जनाएको छ । अन्तरवार्ताका क्रममा इजरायली प्रधानमन्त्रीले इजरायलको गुप्तचर विभागको असफलताका कारण हमासले आक्रमण गरेको स्वीकार्नुभएको थियो । उहाँले भन्नुभयो– ‘आफ्नो नागरिकको सुरक्षा गर्नु सरकारको जिम्मेवारी हो, जुन हामीले पूरा गर्न सकेनौं ।’

गत अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेयता १ हजार ४ सय भन्दा बढी इजरायली नागरिकको मृत्य भएको छ । त्यसपछि शुरु भएको इजरायल–हमास युद्धमा दुवै पक्षका गरी ११ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्